ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण

ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण

बैजनाथ ९ माघ : केहीदिन यता बाँकेमा चलेको शीतलहर र हुस्सुका कारण अत्यधिक जाडो बढेर जनजीवन प्रभावित बनेपछि जिल्लाका स्थानीय सरकारहरुले ज्येष्ठ नागरिकलाई न्यानो फाइबर सिरक वितरण गर्न थालेका छन् ।

सोही क्रममा चिसो अत्यधिक बढेकाले ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको जनाउँदै बाँकेको बैजनाथ गाउँपालिकाले पालिकाभित्रका सात सय जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको छ ।

शीतलहरका कारण चिसो दिनदिनै बढ्दै गएपछि बैजनाथ गाउँपालिकाले ६९ र ७० वर्ष उमेर समूहका सात सय ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए ।

उनले चिसोबाट ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको जानकारी आएपछि विपन्न, अति विपन्न र अन्य सबै ज्येष्ठ नागरिकलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरिएको जानकारी दिए ।

चिसोका कारण कुनै ज्येष्ठ नागरिकले ज्यान गुमाउनु नपरोस् भनेर न्यानो कपडा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार न्यानो कपडा वितरण कार्यक्रम बैजनाथ–१ चिसापानी, २ डिगिया, ३ वैरहवा, ४ बानियाभार, ५ बनकटुवा, ७ पेडारी र वडा नम्बर–८ को कार्यालयमा आयोजित गरिएको थियो ।

कार्यक्रमहरुमा बैजनाथ गाउँपालिकाका अध्यक्ष शाही, उपाध्यक्ष निर्मला रोकाय, सामाजिक विकास समिति संयोजक भूमिसरा राना, महिला, बालबालिका र ज्येष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवाली ढकाललगायतले न्यानो लुगा र सिरक वितरण गरेका थिए ।

Duduwa Tato hawa Bachau Image

यसअघि चिसो बढ्दै गएपछि गाउँपालिकाले ठाउँ ठाउँमा निःशुल्क दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइसकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताए।

उनले बैजनाथ गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा र निःशुल्क स्वास्थ्य बिमा पनि प्रदान गर्दै आएको जानकारी सो अवसरमा दिइन् ।