चिसो बढेपछि बाँकेमा शैक्षिक संस्था बन्द

चिसो बढेपछि बाँकेमा शैक्षिक संस्था बन्द

नेपालगन्ज ९ माघ : पछिल्लो समय बाँकेमा अत्यधिक चिसो बढेपछि यहाँका पालिकाहरुले धमाधम विद्यालय बन्द गरिरहेकाछन् । 

बाक्लो हुस्सु र शीतलहरका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । सिमसिमे वर्षा झैं शीतलहर चलेको छ । शीतलहरबाट जोगिन मानिसहरु गाउँ र शहरका चोक तथा घर अगाडि आगो तापेर बसिरहेका छन् ।

चिसो र शीतलहर बढेसँगै यहाँका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको हो । 

यसैबीच, नेपालगन्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन जाडो बिदा दिइएको छ । बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । 

नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ । 

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट गरे । अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए ।

यस्तै चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले समेत जाडो विदा दिएकोछ । प्रतिकुल मौसमलाई मध्यनजर गर्दै गाउँपालिकाले दुईदिन गाउँपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको खजुरा गाउँपालिकाका प्रेस सल्लाहकार चन्द्रबहादुर बोहराले जानकारी दिए ।

यस्तै, बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगन्जस्थित विमानस्थल उडान हुन पाएको छैन । नागरिक उड्डयन कार्यालय नेपालगन्जले बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा विमानस्थल खुल्न नसकेको जनाएको हो । 

Duduwa Tato hawa Bachau Image

नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख सुम्मतप्रसाद चौधरीले मौसममा सुधार हुनासाथ उडान शुचारु हुने जानकारी दिए । 

उडान नभएपछि कर्णाली प्रदेशका पहाडी जिल्ला तथा राजधानी काठमाडौंका लागि टिकट लिएर विमानस्थल पुगेका यात्रुहरु मौसम सुधार हुने र उडान हुने आशामा विमानस्थल आसपासमै प्रतीक्षारत छन् । 

नेपालगन्जबाट राजधानीलगायत कर्णाली प्रदेशका जिल्लामा गरी दैनिक डेढ दर्जन उडान हुने गरेका छन् । नेपालगन्जबाट कर्णालीका जिल्लामा बिहानीको समयमा उडान हुने गरेको छ ।