आदर्श मावि राझाँ, ग्रिनपिस, आदर्श मावि नेपालगन्ज विजयी

आदर्श मावि राझाँ, ग्रिनपिस, आदर्श मावि नेपालगन्ज विजयी

नेपालगन्ज २७ माघः आदर्श मावि राझाँ, ग्रिनपिस स्कुल कोहलपुर र आदर्श मावि नेपालगन्जले मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा आईतबार जित हाँसिल गरेका छन् । 

नेपालगन्ज रंगशालामा भएको आईतबारको पहिलो खेलमा आदर्शले जय बागेश्वरी स्कुललाई ३–२ ले पराजित गरेको छ । आदर्शको जितमा खगेन्द्र थापाले २ गोल र आकास सुनारले १ गोल गरेका थिए ।

प्लेयर अफ द म्याचको ट्रफी जित्न सफल खगेन्द्रले २३औं र ३१औं मिनेटमा गोल गरेका थिए भने आकाशले १४औं मिनेटमा गोल गरेका थिए । जय बागेश्वरीको तर्फबाट करण शाहीले २५औं मिनेट र विवेक चौधरीले २०औं मिनेटमा गोल गरेका थिए । प्लेयर अफ द म्याच खगेन्द्रलाई प्रदेश खेलकुद परिषद् लुम्बिनीका जनक केसीले ट्रफी प्रदान गरेका थिए ।

दोस्रो खेलमा दिपेश भण्डारीले निर्णायक गोल गरेपछि ग्रिनपिसले मुनतारा स्कुल राझाँलाई १–० ले पराजित गरेको छ । प्लेयर अफ द म्याच दिपेशले खेलको ५८औं मिनेटमा गोल गरेका थिए । दिपेशलाई नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार निरज गौतमले ट्रफी प्रदान गरेका थिए ।

यसैगरी तेस्रो खेलमा आदर्शले पेनाल्टी सुटआउटमा सेन्ट थोमस स्कुललाई ३–१ ले पराजित गरेको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा आदर्शको लागि सन्दिप बुढा, रोशन घर्तिमगर र सक्षम थापा मगरले गोल गरेका थिए । सेन्ट थोमसको लागि अमन केसीले मात्र गोल गर्न सके । खेलको प्लेयर अफ द म्याच राकेश चौधरीलाई पूर्व राष्ट्रिय फुटबल खेलाडी एवम् एनजिओ फेडरेशन बाँकेका पूर्व अध्यक्ष तेजबिक्रम शाहले पुरस्कृत गरेका थिए ।


Duduwa Tato hawa Bachau Image

आईतबारको चौथो खेल धम्बोझी मावि र आदर्श विद्या सदनबिचको खेल कमजोर प्रकाश ‘भिजिबिलीटी’ कारण गोलरहित बराबरीको अवस्थामा स्थगित गरिएको छ । स्थगित गरिएको खेल सोमबार बिहान खेलाईने आयोजक टिमले जनाएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा शुरु भएको प्रतियोगिताको छात्रतर्फ २१ टिमको सहभागिता रहेको छ । फागुन ३ गते सम्म चल्ने मेयर कप फुटबल प्रतियोगिता–२०८१ को छात्रतर्फ २१ विद्यालयको सहभागिता रहेको छ । 

प्रतियोगिता अन्तर्गत छात्र तर्फको सोमबारको दोस्रो खेल मोर्डन पब्लिक स्कुल र जीवनज्योती बिच हुनेछ । तेस्रो खेल मंगल प्रसाद मावि र युनाइटेड एजुकेशनबिच हुनेछ भने चौथो खेल होप इन्टरनेशनल र ब्राइटल्याण्डबिच हुनेछ । पाँचौं खेल मनकामना मावि र सगरमाथा स्कुलबिच हुने आयोजकले बताएको छ ।