मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय महाधिवेशन नेपालगन्जमा हुने
नेपालगन्ज १६ फाल्गुन : नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन २०८२ वैशाख २१ र २२ गते नेपालगन्जमा आयोजना गरिने भएको छ ।
नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय समितिले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर सो जानकारी गराउँदै महाधिवेशनको तयारी शुरु भइसकेको जनाएको छ।
नेपाल मुस्लिम इत्तेहाद संगठनका इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य मो हारुन हल्वाईले २०४८ सालमा स्थापित नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन आगामी वर्ष वैशाख २१ र २२ गते नेपालगन्जमा हुने बताए ।
उद्घाटन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल विशेष अतिथि रहने बताए । महाधिवेशनमा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक प्रशिक्षण दिने कार्यक्रम छ ।
पत्रकार सम्मेलनमा नेपाल मुस्लिम इत्तेहाद संगठनका कोषाध्यक्ष तथा महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खाँले अधिवेशन सफल बनाउनका लागि १३ वटा उपसमिति निर्माण गरी तयारी तीव्र पारिएको बताए । उनले महाधिवेसनमा ४२ जिल्लाबाट ६०० प्रतिनिधिको सहभागिता रहने जानकारी दिँदै महाधिवेशनलाई सफल बनाउनका लागि पत्रकार, बुद्धिजीवी, बाँकेबासी आम नागरिक, अन्य आस्थाका संगठनलाई हार्दिक अपील गरे ।
मुस्लिम इत्तेहाद संगठनले मुस्लिम समुदायको पक्षका पैरवी गर्ने, पक्षधरका विषयमा काम गर्ने, समुदायको हित, समुदायको अधिकारका लागि वकालत गर्ने संगठन भएको र राजनीतिक, सामाजिक, आर्थिक पक्षमा बहस चलाई समुदायका हक अधिकार सदनदेखि सडकसम्म पुर्याउने कार्य गरिरहेको सो अवसरमा नेपाल मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष सफिक नद्दाफले बताए ।





0 Comments