लुम्बिनी कप महिला फुटबल : आज एपिएफ क्लब र रौतहटबीच रोमाञ्चक खेल हुँदै
नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा
नेपालगन्ज १० वैशाख : लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा बुधबार(आज) विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र रौतहट फुटबल संघबीच रोमाञ्चक खेल हुने भएको छ । नेपालगन्ज रंगशालामा अपरान्ह ४ः३० बजे दुबै टिमबीच फाइनलका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
विभागिय टिम एपिएफ क्लब र रौतहटबीचको दोस्रो सेमिफाइनल खेल हेर्न आज दर्शकहरुको उपस्थिती उल्लेख्य मात्रामा हुने अपेक्षा गरिएको आयोजक अन्तरालका प्रचार–प्रसार संयोजक निरज गौतमले बताए । यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।
रौतहटले यसअघि बाँके–११ लाई ३ शून्य गोलले र एपिएफले कर्णाली प्रदेश फुटबल संघलाई ६ शून्य गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा जारी प्रतियोगितामा कुल ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ । प्रतियोगिता यही बैशाख १२ गतेसम्म सञ्चालन हुनेछ ।
यसअघि मंगलबार नेपालगन्ज रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले हराउँदै पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा पुलिसको तर्फबाट पहिलो हापको २९ औं मिनेटमा मिना देउवाले एक गोल गरेर पुलिसलाई एक गोलले अग्रता दिलाउन सफल भइन् । पहिलो हाप सकिँदासम्म आर्मीका तर्फबाट कुनै गोल हुन सकेन । खेलको दोस्रो हापको ८० औं मिनेटमा आर्मीका तुलसा बोहोराले एक गोल गरीन् । आर्मीका तुलसा बोहोराले गोल गरेपछि खेलको निर्धारित समय सकिँदासम्म दुबै टिमबाट थप अर्को गोल हुन सकेन ।
१÷१ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पुलिसकी रेबिका पाण्डे, उषा नाथ, निरु थापा, सुष्मा तामाङ, अनुष्का शेर्पा र अमृता जैसीले पेनाल्टी गोल गरे भने मोनिका पुलामी मगर, मिना देउवा र समीक्षा घिमिरेले गोल गर्न चुके । यस्तै आर्मीकी तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, बिमला विक र सुखरिया सुक्लखुले गोल गर्न सफल भए भने अंचली वाइबा, चन्द्रा भण्डारी, सुनिता चौधरी र इन्दिरा राईले गोल गर्न सकेनन् । खेलमा म्यान अफ द म्याच पुलिसकी गोलकिपर उषा भइन् ।





0 Comments