बैजनाथका बालबालिका तथा अभिभावकलाई लागु औषधविरुद्धको चेतनामुलक अभिमुखीकरण
- | नेपाखबर | स्वास्थ्य
- २५ वैशाख २०८२, बिहिवार
- नेपाखबर
बैजनाथ (बाँके) २५ बैशाख : बाँकेको बैजनाथ गाउँपालिकाका बालबालिका तथा अभिभावकका लागि लागु औषधविरुद्धको सचेतनामुलक अभियान शुरु गरिएको छ । लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको हो ।
बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रालि नेपालगन्जले पालिकाको आठ वटै वडामा लागुऔषधविरुद्धको सचेतनामुलक अभियान सञ्चालन गरेको हो । बुधबारदेखि शुरु भएको कार्यक्रम विहीबार पालिकाको वडा नम्बर–५ मा सञ्चालन गरियो ।
कार्यक्रमका सहभागीले लागु औषधको दुव्र्यसनमा युवाहरु फस्दै गरेकाले यसबारे सचेतना अभिबृद्धिसंगै अभिभावकको भुमिका महत्वपुर्ण भएको जोड दिएका थिए । सहभागीले अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढी निगरानीमा राख्नुपर्नेमा जोड दिदै यसबारे सचेत भई आवश्यक सुरक्षा अपनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष देवबहादुर रावतले बैजनाथमा लागु औषधको प्रयोग बढदै गएकाले यसको नियन्त्रणका लागि पालिकाले नितिगत रुपमा रणनितिक योजना तयार गरि अघि बढने बताए ।
वडा सदस्य दिपबहादुर थापाले लागुऔषधजस्ता कुलतमा फस्ने युवाहरुलाई सचेत बनाउन सबै सरोकारवाला निकायको भुमिकामा जोड दिए । प्रहरी हवल्दार घर्तिमगरले समुदायमा लागु औषधको प्रयोग तथा कारोबार बढदै गएकाले यसबारे जानकारी पाउनेवित्तिकै प्रहरीलाई खबर गर्न आग्रह गर्दै यसको नियन्त्रणमा सबैले सहयोग गर्ने बताए ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविका सञ्जालका केन्द्रिय उपाध्यक्ष प्रेमपुर्णा योगी, जयसिंह केसी लगायतले बोलेका थिए । कार्यक्रममा बालबालिका, अभिभावक, शिक्षक, बुद्धिजिवी, समाजसेवी लगायत गरि करिब ६० जनाको सहभागिता रहेको थियो । संस्थाले बुधबार बैजनाथको ६ नं. वडामा अभिमुखीकरण कार्यक्रम गरेको जनाएको छ ।





0 Comments