नेपालगन्जका सरसफाईकर्मी नै जोखिममा

नेपालगन्जका सरसफाईकर्मी नै जोखिममा

नेपालगन्ज ११ जेठ : नेपालगन्जमा रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोर जथाभाबी फाल्दा र सामान्य फोहोरमा सो फोहोर मिसाउँदा सरसफाइकर्मी सङ्क्रमणको अत्यधिक जोखिममा रहेका छन् । नेपालगन्ज उपमहानगरका विभिन्न शाखाका संयोजक र अस्पताल तथा स्वास्थ्य संस्थाको सहभागितामा सम्पन्न भएको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकका सहभागीले सो जोखिम औँल्याएका हुन् । 

बैठकमा बोल्दै नेपालगन्ज उपमहानगरको भौतिक पूर्वाधार समितिका संयोजक वसन्त कनौजियाले अस्पतालबाट स्वास्थ्यजन्य फोहोर सही तरिकाले छुट्याउने अभ्यास कमजोर रहेका कारण साधारण फोहोरमा जोखिमपूर्ण र सङ्क्रमित फोहोर मिसिएर पठाउने गरिएकाले सरसफाइकर्मीलाई सुई घोपिने र सङ्क्रमण हुने जोखिम उच्च रहेको बताए ।

उनले यो समस्या गम्भीर रहेको र यसले गर्दा धेरैको जीवन नै जोखिममा रहेका कारण यस्तो समस्यालाई नियमन गर्न एउटा छुट्टै निरीक्षण टोली बनाउनुपर्ने माग गरे ।

नेपालगन्ज उपमहानगरका वातावरण इन्जिनियर प्रकाश डिसीले स्वास्थ्यजन्य फोहोरलाई व्यवस्थापन गर्ने कार्यमा सुधार गर्दै गइरहेको र त्यसलाई उदाहरणीय बनाउन सम्पूर्ण स्वास्थ्य संस्थाले हातेमालो गर्न आवश्यक रहेको बताए । नेपालगन्जको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले यहाँ स्वास्थ्यजन्य फोहोर जथाभाबी फाल्ने अभ्यास देखिएकाले उपमहानगरले यस्ता गलत अभ्यासलाई नियन्त्रित गर्न कडा जरिबाना गरेको हुँदा त्यसमा अझै कडाइ गर्नुपर्ने बताए ।

वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ६ का वडाध्यक्ष समीरप्रताप सिंहले सरसफाइकर्मीको समस्यालाई ध्यान दिन आवश्यक रहेको बताउँदै स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सही तरिकाले गर्न लगाउनुपर्ने बताए ।

Duduwa Tato hawa Bachau Image

वाल्मीकि समाज बाँकेका अध्यक्ष जगदीश वाल्मीकिले जोखिमपूर्ण स्वास्थ्यजन्य फोहोर जस्तै रगत भएको पट्टी, सङ्क्रमित सुई, सिसाले सरसफाइकर्मीलाई  घोपिने, चोटपटक लाग्ने, सङ्क्रमण हुने जोखिम उच्च रहेकाले सोतर्फ सबै गम्भीर हुनुपर्ने बताए ।

सहभागीले सरसफाइकर्मीको पेसागत र वातावरणीय जोखिमलाई न्यूनीकरण गरी स्वास्थ्य सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्यजन्य फोहोरमा काम गर्ने सरसफाईकर्मीलाई स्वास्थ्यजन्य फोहोरबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न अस्पतालमा स्वास्थ्यजन्य फोहोर सही तरिकाले छुट्याउन लगाउनुपर्नेमा जोड दिएका थिए ।