प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजनात्मक र चिन्ताजनक : मानव अधिकार आयोग

प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजनात्मक र चिन्ताजनक : मानव अधिकार आयोग

नेपालगन्ज १२ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति मूठभेड निम्तिन सक्ने चिन्ताजनक र उत्तेजनापूर्ण भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले राजावादी संयुक्त जनआन्दालेन समितिले जेठ १५ गते काठमाडौंमा गर्ने प्रदर्शनका विषयमा आइतबार प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्ति विधिको शासन विपरीत भएको उल्लेख गरेको छ ।

अभिव्यक्तिको चौतर्फी आलोचना हुँदा आयोगका प्रवक्ता एवम् सहसचिव डा. टीकाराम पोखरेल हस्ताक्षरित विज्ञप्तिमा ‘देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरित हुनुका साथै, निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाई छ’, भनिएको छ ।

त्यस्तै, शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध नगरेको उल्लेख गर्दै भनिएको छ, ‘यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।’

Duduwa Tato hawa Bachau Image


मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारको मूल्य मान्यताको समेत विपरीत हुन जाने आयोगको ठहर छ ।

प्रधानमन्त्री र अन्य पक्षकालाई पनि आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले आग्रह गरेको छ ।