नेपालगन्ज–दिल्ली उडानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइदैं

नेपालगन्ज–दिल्ली उडानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइदैं

नेपालगन्ज ८ साउन : बाँकेमा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपालगन्जदेखि दिल्ली उडानले यहाँको अर्थतन्त्र चलायमान हुने हुँदा त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका छन् ।

उडानका लागि यहाँका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय बैठकले प्रधानमन्त्री ओलीको आगामी भदौ अन्तिम साता हुने भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानलाई एजेण्डा बनाउन आग्रह गर्ने निर्णय गरेको छ ।

नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले एजेण्डालाई प्राथमिकताका साथ उठाउने र त्यसको टुङ्गो नलाग्दासम्म नछाड्न आग्रह गर्दै यसको फाइदा र बेफाइदा बारेमा स्पष्ट हुन जरुरी भएको बताए । “अब यसलाई उठाएर बीचमा छाड्ने होइन, यस क्षेत्रको विकासका लागि निरन्तर लागिरहनुपर्छ”, उनले भने ।

नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले सबै दललाई विकासका सवालमा एकै ठाउँमा उभिएर अघि बढ्न अनुरोध गर्दै यस्ता विषयले नेपालगञ्जको परिचय स्थापित हुने बताए । प्रधानमन्त्रीको निकट भविष्यमा हुन लागेको मित्र राष्ट्र भारतको भ्रमणमा यो विषयलाई प्रमुखताका साथ उठाउन पहल गर्ने निर्णय गरिएको उद्योग वाणिज्य सङ्घका महासचिव भीमबहादुर रानाभाटले बताए ।

Duduwa Tato hawa Bachau Image

रानाभाटका अनुसार नेपालगञ्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले सङ्घका अध्यक्ष टङ्क बहादुर धामीको संयोजकत्वमा ‘नेपालगञ्ज–दिल्ली उडान दबाब समूह’ गठन गरेको थियो । “दबाब प्रभावकारी बनाउन विभिन्न कार्ययोजना बनाइँदैछ”, दबाब समूहका सदस्य–सचिव समेत रहेका सङ्घका महासचिव रानाभाटले भने । सङ्घका अध्यक्ष धामीले सो एजेण्डा स्थापित गर्ने महत्वपूर्ण अवसर भएकाले सबै राजनीतिक दललाई समन्वय गरेर ध्यानाकर्षण गराउन प्रधानमन्त्रीसम्म पुगिने बताए ।

नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ को रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज–दिल्ली सिधा उडान अपरिहार्य मानिएको छ । यसले विशेष गरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएकाले सबैलाई समेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण आवश्यक भएको सरोकार भएकाहरूले बैठकमा बताएका छन् ।

त्यसका लागि नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीको संयोजकत्वमा पूर्व अध्यक्ष झलक गैरे, नेपाली कांग्रेसका सचिव कोइराला, पत्रकार शरण कर्माचार्य, शङ्कर खनाल, आशिष गुप्ता र विज्ञ हरि सुवेदी सदस्य रहेको अध्ययन प्रतिवेदन निर्माण समिति गठन गरिएको छ । समितिले १० दिनभित्र नेपालगञ्ज–दिल्ली उडानको आवश्यकता, औचित्य र महत्त्वबारे अध्ययनसहितको प्रतिवेदन तयार पार्नेछ । प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिनेछ । प्रधानमन्त्री ओली आगामी भदौ ३१ मा नयाँ दिल्ली प्रस्थान गर्दैछन् । -रासस