लामो खडेरी, धान र जमिन व्यवस्थापन

लामो खडेरी, धान र जमिन व्यवस्थापन

हामीकहाँ खाद्य तथा पोषण सुरक्षामा कृषि क्षेत्रको योगदान उच्च रहँदै आएको छ । अर्कोतिर यस क्षेत्रले करिब कुल जनसंख्याको ५७.३ प्रतिशतलाई रोजगारी दिइरहेको छ । अन्नबालीमद्ये धान मुख्य बाली हो । विशेषतः वर्षायाममा खेती गरिने प्रमुख बाली भएकाले यसको उत्पादन मनसुन प्रणालीमा निर्भर रहन्छ । जुन वर्ष वर्षायाममा पर्याप्त पानी पर्छ, त्यस वर्ष यसको उत्पादन उच्च हुन्छ भने खडेरी परेको वर्ष उत्पादनमा गिरावट आउँछ भन्ने विभिन्न तथ्यांकले देखाउँछन् ।

धान नेपालमा मात्र नभई विश्वकै आधा करिब चार अर्ब जनसंख्याको मुख्य खाद्यान्न तथा कार्बोहाइड्रेटको स्रोत हो । नेपालमा कृषिगत गार्हस्थ्य उत्पादनमा धानको योगदान करिब २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा यसको प्रत्यक्ष योगदान ७ देखि ८ प्रतिशत रहेको छ । त्यस्तै, कुल खेतीयोग्य जमिनको करिब ४८ प्रतिशत भूभागमा धानखेती हुने गरेको पाइन्छ ।

अन्य एसियाली मुलुकको तुलनामा नेपालमा धानको उत्पादकत्व कम छ । नेपालको औसत उत्पादकत्व करिब ४.० टन प्रतिहेक्टर मात्र छ । चीनमा ७.१ टन, बंगलादेशमा ५.० टन, भारत र भुटानमा ४.३ टन र पाकिस्तानमा ४.१ टन प्रतिहेक्टर धान उत्पादन हुने गरेको पाइन्छ । विश्वस्तरमा नेपालले कुल धान उत्पादनको करिब ०.७ प्रतिशत हिस्सा मात्र ओगटेको छ भने दक्षिण एसियामा करिब २ प्रतिशत हिस्सा ओगटेको देखिन्छ ।

नेपालमा प्रचुर सम्भावना हुँदाहुँदै पनि धानको उत्पादन कम हुनुको कारणमा असिञ्चित क्षेत्रको अधिकता, जलवायु परिवर्तन, गुणस्तरीय रासायनिक मलको अभावका साथै उन्नत जात र प्रविधिको प्रसारमा अभाव प्रमुख छन् । त्यसैले जलवायु सहनशील, नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेको उन्नत जातको प्रसार, सिँचाइ पूर्वाधारको विस्तार र कृषकलाई सहज मल तथा प्रविधिमा पहुँच पु¥याउने खाँचो देखिन्छ ।

संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)हरूको आँकडा अनुसार प्रतिव्यक्ति प्रतिवर्ष १२० देखि १३५ किलो चामल आवश्यक हुन्छ । यो अनुमानित आँकडालाई विश्लेषण गर्दा प्रतिव्यक्ति प्रतिवर्ष औसत १०० किलो चामल मात्र राख्दा पनि सम्पूर्ण नेपाली अर्थात् २.९ करोड नेपालीलाई करिब २९ लाख टन चामलको आवश्यक हुन्छ । 

नेपाल चामलमा आत्मनिर्भर हुनका लागि करिब ४१ देखि ४४ लाख टनसम्म धान उत्पादन हुनुपर्ने देखिन्छ । गत आर्थिक वर्ष देशमा करिब ५५ लाख टन धान उत्पादन भएको देखिए पनि करिब ३९ अर्ब रुपैयाँ बराबरको ७ लाख ७२ हजार टन चामल आयात भएको देखिन्छ । यसरी हेर्दा नेपालको खाद्य सुरक्षामा साबिकको उत्पादनले नै पर्याप्त हुने देखिन्छ, तर पनि देशमा उन्नत जात, सिँचाइ सुविधा र गुणस्तरीय रासायनिक मलको सहज पहुँच किसानमा पु¥याउने हो भने धानको उत्पादन अझै वृद्धि गर्न सकिने प्रशस्त सम्भावना छ । 

Duduwa Tato hawa Bachau Image

नेपालमा अधिकांश धानखेती क्षेत्र असिञ्चित रहेका कारण लामो खडेरीको अवस्था आउँदा वैकल्पिक उपाय आवश्यक हुन्छन् । जस्तो ः चुरे क्षेत्रका खोला–नालामा चेक ड्याम निर्माण गरी बाढीको प्रकोप न्यून गरेर जमिनमुनिको पानीको सञ्चयमा वृद्धि गर्न सकिन्छ । ताल, तलैया संरक्षण र संवर्धन गरी सिँचाइमा प्रयोग बढाउन सकिन्छ । वातावरण अनुकूल सुक्खा तथा डुबान सहन सक्ने धानका जातहरूको प्रवद्र्ध र विस्तार गर्नमा जोड दिनुपर्छ । वर्षा याममा धानको वैकल्पिक बालीका रूपमा भटमास, रहर, मास, बोडी, आदिको खेतीमा जोड दिनुपर्छ । 

कम पानी चाहिने कोदोजन्य बालीहरूको विस्तार गर्न सकिन्छ । हरियो मलको रूपमा ढैचा वा हरियो मल तथा दालका लागि मुंग बालीहरूको प्रयोग गरी माटोको गुणस्तर सुधार गर्न सकिन्छ, जसले माटोको पानी सोस्ने क्षमतामा वृद्धि गर्छ ।

यस्तै सी टाइप रोटाभेटरको सट्टा जे टाइपको प्रयोग गर्न सकिन्छ । हरेक तीन वर्षमा एकपटक ‘सब सोइलर’को प्रयोग गरी माटोको कडा सतहलाई तोड्न सकिन्छ । केन्द्र तथा स्थानीय सरकारहरूले जमिन तयार गर्ने वा बाली काट्ने मेसिनहरूको सट्टा सिँचाइ प्रणाली विस्तारमा जोड दिनुपर्छ । प्रदेश स्तरमा धानको वैकल्पिक बालीहरूको बिउ सञ्चय गरी खडेरीको समयमा वा आपतकालीन अवस्थामा वितरण गर्न सकिन्छ ।

नेपालको खाद्य सुरक्षा र अर्थतन्त्रमा धानले महत्त्वपूर्ण भूमिका खेलेको छ । उत्पादन वृद्धि गर्न उन्नत जात, सिँचाइ र रासायनिक मल व्यवस्थापनमा सुधार ल्याउन आवश्यक देखिन्छ । साथै, दीर्घकालीन खडेरी वा जलवायु आपतकालीन अवस्थाहरूका लागि वैकल्पिक बाली तथा संरक्षण उपायहरू अवलम्बन गरिनु अत्यावश्यक छ ।

(लेखक, डा. अनिल पोख्रेल, वरिष्ठ वैज्ञानिक तथा संयोजक, नार्क, कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके कार्यरत छन् ।) –रातोपाटीबाट साभार