भेरी अस्पतालबाट दुई लाख बढीले ओपिडी सेवा लिए
- | नेपाखबर | स्वास्थ्य
- १५ साउन २०८२, बुधवार
- नेपाखबर
नेपालगन्ज १४ साउन : नेपालगन्जमा रहेको भेरी अस्पतालमा बर्सेनी विरामीको चाप बढ्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ । तर, बजेट भने घट्दै गएको छ ।
आर्थिक वर्ष २०८१–०८२ मा मात्रै २ लाख बढीले ओपिडी सेवा लिएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बर्सेनी अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताए ।
आर्थिक वर्ष २०८१–०८२ मा २ लाख २१ हजार ५०२ जनाले ओपिडी सेवा लिएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८०–०८१ भन्दा २२ हजार २०३ ले बढी हो । आर्थिक वर्ष २०८०–०८१ मा १ लाख ९९ हजार १७२ जनाले ओपिडी सेवा लिएका थिए भने आर्थिक वर्ष २०७९–०८० मा १ लाख ६५ हजार ६८३ जनाले ओपिडी सेवा लिएका थिए ।
‘बर्सेनी बिरामीको चाप बढ्दै गए पनि संघीय सरकारबाट प्राप्त हुने बजेट घट्दै गएको छ,’ अस्पतालको चुनौतिबारे उनले भने–‘यसले सेवाग्राहीलाई दिनुपर्ने सेवा प्रवाहमै असर गरिरहेको छ ।’ आर्थिक वर्ष २०७९–०८० मा संघीय सरकारले भेरी अस्पताललाई १९ करोड बजेट विनियोजन गरेको थियो भने २०८०–०८१ मा १३ करोड कटौति गर्दै केवल ६ करोड मात्रै बजेट पठाएको थियो । आर्थिक वर्ष ०८१–०८२ मा त झन ५ करोडमा सीमित बनेको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताए ।
अस्पतालले पछिल्लो एक वर्षमा ३ हजार ७ सय ८८ जनाको शल्यक्रिया गरेको जनाएको छ । मेजर शल्यक्रिया मात्रै २ हजार ८ सय ६० वटा गरिएका छन् भने माइनर शल्यक्रिया ५ सय ८६ र मध्यम शल्यक्रिया ३ सय ४२ वटा गरिएका छन् ।





0 Comments