किसानलाई सहजरुपमा मल उपलब्ध गराउन महासंघको पहल

किसानलाई सहजरुपमा मल उपलब्ध गराउन महासंघको पहल

नेपालगन्ज १८ साउन : बाँकेका किसानलाई रासायनिक मलको चरम अभाव भएको भन्दै नेपाल किसान महासंघ बाँकेले आवश्यक पहल गरेकोछ । नेपाल किसान महासंघ बाँकेले आईतबार विभिन्न सम्बद्ध सरोकारवालालाई भेटेर किसानलाई सहज रुपमा मल उपलब्ध गराउन पहल गरेको हो । 

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन महासंघको एक टोली कृषि सामाग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा पुगेको थियो । 

मानो रोपी मुरी फलाउने बेला रासायनिक मल अभावमा बर्षेनी किसानले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै मल तथा वितरण प्रणालीका बारेमा उक्त टोलीले जानकारी समेत लिएको थियो । 

नेपाल किसान महासंघ बाँकेका सचिव ललितकुमार रौनियार नेतृत्वको टोलीले किसानलाई सहज र सरलरुपमा मल उपलब्ध गराउन अनुदानमा रासायनिक मल उपलब्ध गराइरहेको ती कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराएको हो । 

‘समयमै मल उपलब्ध नहुँदा कृषि उत्पादन घट्न गई, खाद्य सुरक्षामा समेत नआउला भन्न सकिँदैन । रासायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरेर सहज रुपमा मल उपलब्ध गराउन माग गरेका छौं, सचिव रौनियारले भने–‘च्याउसरी खुलेका सहकारीका कारण समेत मल वितरणमा समस्या देखिएको पाइयो । उनीहरुले आफ्ना शेयर सदस्यलाई प्राथमिकता दिदाँ अन्य किसानले मल पाउने गरेका छैनन् ।’


कृषि सामाग्री केन्द्र नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले वर्षेनी खेती गर्ने क्षेत्रफल बढ्दो र माग अनुसारको मल प्राप्त नहुँदा मलको अभाव देखिएको बताए । उनले यसका लागि केन्द्र सरकारबाटै आवश्यक पहल भएमा समस्या नहुने भन्दै आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको र केही दिनमा थप मल आउने र तत्कालै वितरण गर्ने बताए । 

यता अनुदानको मल वितरण गरिरहेको अर्को साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा ५ हजार बोरा युरिया स्टक रहेको तर, लिमिटेडको प्रदेश कार्यालयबाट पत्र नआउदाँ वितरण गर्न नपाएको निमित्त कार्यालय प्रमुख धु्रबमान श्रेष्ठले बताए । 

केही मल आउनेक्रममा रहेको बताउँदै श्रेष्ठले यसका लागि पहल गरिरहेको जनाए । साल्टले किसानलाई अनुदानको मल उपलब्ध गराइरहेको दावि गरेकोछ । तर, अधिकांस सहकारी र किसानले भने साल्टबाट उपलब्ध हुने मलको कुनै लेखाजोखा नहुने र कम गुणस्तर हुने गरेको गुनासोछ ।

यसैबीच उक्त टोलीले आईतबार नै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीमगरलाई समेत भेटेर मलको चरम अभावका बेला किसानले भारतबाट ल्याउने मल सुरक्षाकर्मीले रोक्ने गरेकोले त्यसमा मितब्ययिता अपनाउन आग्रह गरेको थियो । 

नेपाली काँग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी सम्मलित महासंघ बाँकेको उक्त टोलीले गरेको मागलाई सम्बोधन गर्दै बाँके प्रहरी प्रमुख घर्तीमगरले किसानको पहिचान खुल्ने गरि जग्गाको लालपुर्जाको फोटोकपी लिएर १–२ बोरा मल ल्याउन दिन मातहतका सुरक्षाकर्मीलाई मौखिक निर्देशन दिएको बताए । 

उनले भने–‘भारतबाट आउने मलको रेकर्ड राख्न जग्गाको पुर्जाको फोटोकपी अनिवार्य गरेका हौं, असली किसानले यो सुविधा पाओस् भन्ने हाम्रो मान्यता हो’ तर, त्यसको नाममा कालोबजारी गरिएको भेटिए कारबाही गर्ने उनले बताए । 

Duduwa Tato hawa Bachau Image


उनले भने–‘मलको चरम अभावबाट केही राहत प्रदान गर्नका लागि आवश्यक परामर्शपछि यो खुकुलोपना गरिएको हो तर, यसलाई कसैले कालोबजारीका रुपमा लिए कानूनी कारबाही हुनेछ ।’

सरकारले मल आपूर्ती गर्न नसकेको, वितरण प्रणालीमा पारदर्शीता नरहेको र किसानहरु मलको अभावमा वर्षेनी समस्या झैल्दै आएको प्रति गम्भीर आपत्ती जनाउँदै नेपाली काँग्रेस बाँकेका कार्यबहाक सभापती गोपालप्रसाद अधिकारीले मलको कालोबजारी रोक्न, किसानको नाममा आएको मल उनीहरुलाई सहजरुपमा उपलब्ध गराउन आग्रह गरेका थिए । 

सोक्रममा नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर–२ का सभापति सुरेन्द्र कुमार श्रेष्ठ, नेपालगन्ज नगर कार्यसमितिका अध्यक्ष लोकबहादुर शाहले सरकारको ढिलासुस्ती, स्थानीय निकायको मौनता र संवेदनशील विषयमा केन्द्रले आवश्यक ध्यान नदिदाँ किसानले सास्ती खेप्नुपरेको भन्दै रासायनिक मलको सहज उपलब्धता र वितरणका लागि माग गरेका थिए ।

किसानलाई सहजरुपमा मल उपलब्ध गराउन आवश्यक पहल गर्न नेपाल किसान महासंघ बाँकेका सचिव ललितकुमार रौनियार नेतृत्वको टोलीमा नेपाली काँग्रेस बाँकेका कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारी, महासंघ केन्द्रिय प्रतिनिधी कुन्तलाराज शर्मा, नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर–२ का अध्यक्ष सुरेस कुमार श्रेष्ठ, सचिव विजय मल्ल, नगर अध्यक्ष लोकबहादुर शाह, महासंघ वडा नम्बर–१३ का अध्यक्ष अरुण शाह र १४ का अध्यक्ष भल्लु कोरीको सहभागिता रहेको थियो ।