प्रेस युनियनले बाँकेमा शुरु गर्यो सय दिने सदस्यता अभियान

युनियनलाई भर्ती केन्द्र नबनाउन वरिष्ठ उपाध्यक्ष केसीको निर्देशन
प्रेस युनियनले बाँकेमा शुरु गर्यो सय दिने सदस्यता अभियान

नेपालगन्ज १४ भदौ : नेपाल प्रेस युनियन बाँकेले सय दिने सदस्यता अभियान शुरु गरेको छ । नेपालगन्जमा शुक्रबार औपचारिक कार्यक्रम गरेर युनियनले उक्त अभियान शुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसीले अभियान सुभारम्भ गरे ।

अभियान सुभारम्भ गर्दै वरिष्ठ उपाध्यक्ष केसीले युनियनलाई भर्ती केन्द्र नबनाउन निर्देशन दिए । उनले भने, ‘सञ्चार क्षेत्रमा काम गर्ने र पत्रकारकै पहिचान बनाएका साथीहरुलाई सदस्यता दिने सवालमा पूर्वाग्रही नहुनुहोस्, तर आफ्नो स्वार्थ सिद्दका लागि सदस्य बन्नेहरुलाई रोक्नुहोस्, त्यस्ता सदस्यहरुको नवीकरण समेत नगरिदिए पनि हुन्छ ।’ 

केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन दिए ।

यस्तै नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीले प्रेस युनियन अरु संगठन भन्दा पुरानो र अग्रणीय संगठन भएकाले यसमा आबद्ध हुनेहरु पनि पत्रकार भएकै हुनुपर्ने बताए । उनले शुद्धिकरण अभियानलाई प्रभावकारी गराउन पनि निर्देशन दिए । 

‘गत वर्षबाटै हामीले बाँकेमा शुद्धिकरण अभियान शुरु गरिसकेका छौं,’ उनले भने,–‘शुद्धिकरणलाई बदनाम गर्ने प्रयास गरियो । तर, मर्यादित पत्रकारिताका लागि शुद्धिकरण आवश्यक छ ।’ 

पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले युनियनको सदस्यता अभियानले संगठनप्रति आस्था राख्नेहरुलाई उत्साहित गर्ने बताए ।

Duduwa Tato hawa Bachau Image

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, बाँके शाखाका निवर्तमान अध्यक्ष अर्जुन ओली, अग्रज नेता नीरज कुमार गौतम लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम युनियन बाँकेका सचिव भिष्म लोधले सञ्चालन गरेका थिए, भने स्वागत मन्तब्य उपाध्यक्ष कमल खत्रीले गरेका थिए ।