धनगढीबाट डा. गोविन्द केसीले शुरु गरे तीनदिने सत्याग्रह

धनगढीबाट डा. गोविन्द केसीले शुरु गरे तीनदिने सत्याग्रह

File Photo

नेपालगन्ज १५ भदौ : सामाजिक अभियन्ता डा. गोविन्द केसीले तीनदिने सत्याग्रह शुरु गरेका छन् । डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै आजदेखि सत्याग्रह शुरु गरेका हुन् ।  

उनले आईतबार (भदौ १५) पत्रकार सम्मेलन गर्दै निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिने आरोप लगाए । 

“निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ,” उनले भने, “शिक्षाको गुणस्तर खस्कनु भनेको स्वास्थ्य सेवामा ह्रास आउनु हो । सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धराप पर्दै गएको छ ।”  

केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग उनको छ ।

Duduwa Tato hawa Bachau Image

स्वास्थ्य, चिकित्सा शिक्षा क्षेत्र र बेलाबखत सार्वजनिक चासोका विषय उठाउँदै डा. केसी अनशन बस्न थालेको १५ वर्ष पुग्यो । उनका अधिकांश अनशन सरकारसँगको सहमतिमा टुगिंएका छन् । हरेकपटक सहमतिमा अनशन टुगिंए पनि डा. केसी अर्कोपटक फेरि पुरानै सहमति पालना भएन भन्दै अनशन बस्छन् । कतिपय अवस्थामा डा. केसीको मागमा पर्ने राजनीतिक विषयले उनको आलोचना पनि हुन्छ ।