जनेजी आन्दोलन : सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव

जनेजी आन्दोलन : सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव

File Photo

नेपालगन्ज २५ भदौ : जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । योसंगै जेजी आन्दोलनले देशमा पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावनाको ढोका उघारेको छ । आज बसेको जेनजी समूहको वृहद भर्चुअल वैठकमा भावि प्रधानमन्त्रीका निम्ति उनी सबैभन्दा लोकप्रिय देखिइन् ।

जेनजीको ठूलो समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई प्रधानमन्त्रीको कुर्सीमा राख्न चाहेको थियो । तर, बालेनले फोन रेस्पोन्स नगरेपछि उनको नाममाथि छलफल भएन । बैठकमा सबैभन्दा बढी भोट सुशीलालाई मिल्यो । उनी स्वयम् पनि प्रधानमन्त्रीका जिम्मेवारी सम्हाल्न तत्पर बनेको जेनजी अगूवाहरु बताउँछन् ।

बलियो कानूनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वताले गर्दा धेरै युवाहरुको रोजाइमा उनी परेकी हुन् । कार्कीले प्रधानन्यायाधीश पदमा छँदा निस्पक्ष र सन्तुलित भूमिका निर्वाह गरेकी थिइन् । धेरैले उनलाई निर्भिक न्यायमूर्तिका रुपमा चिन्ने गर्छन् ।

यसैबीच, आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्ताव भएपछि विवाद शुरु भएको छ । अहिले नेपाली सेनाको मुख्यालयमा जेनजी युवाहरूले नयाँ नेतृत्वको विषयलाई लिएर प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले कार्की नयाँ नेतृत्वमा आउन नहुने भन्दै विरोध गरिरहेका हुन् । उता, कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समेत समर्थन जनाइसकेका छन् । तर, जंग्गीअड्डामा उपस्थित भीडले भने मेयर बालेनलाई नै अघि बढाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।

संवेदनशील समयमा विकास हुने घटनाक्रमको नेतृत्व गर्नका लागि कानून र विधिको रक्षा गर्नसक्ने इमान्दार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले कार्कीको नाम प्रस्ताव गरिएको बताइएको छ ।

Duduwa Tato hawa Bachau Image

यस्तो छ सुशीलाको विगत

सुशीला कार्की नेपालको सर्वाेच्च अदालतको पहिलो महिला प्रधानन्यायधीश पनि हुन् । उनले २०७३ साल असार २७ गतेदेखि २०७४ जेठ २४ गतेसम्म यो पद सम्हालेका थिइन् । उनको जन्म २००९ जेठ २५ मा मोरङ, विराटनगरको शङ्खरपुरमा भएको हो ।

सात सन्तानमध्ये ज्येष्ठ छोरीका रूपमा जन्मिएकी कार्कीको परिवार किसानी पृष्ठभूमिको थियो भने बीपी कोइरालाको परिवारसँग नजिकको सम्बन्ध थियो । सुशीलका पति दुर्गा सुबेदी प्रजातान्त्रिक सेनानी हुन् ।

सुशीलाले महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बीए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरिन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हाँसिल गरेकी छिन् ।

उनको करिअर भने शिक्षण पेशाबाट सुरु भएको थियो । उनले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापन गरिन् ।

२०३५ सालमा वकालत सुरु गरेकी उनले विराटनगरको पुनरावेदन अदालतमा बार अध्यक्षको जिम्मेवारीसमेत सम्हालिन् । २०६१ मा वरिष्ठ अधिवक्ता बनेकी कार्की २६५ सलमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनिन् । २०६७ मा उनी स्थायी न्यायाधीश भइन् ।

२०७३ सालमा प्रधानन्यायाधीश नियुक्त भएकी सुशीलाले आफ्नो कार्यकालमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएकी थिइन् । उनको कार्यकालमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो । त्यसअघि उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध बोल्ड फैसला गरेकी थिइन् ।

कार्कीको कार्यकाल निर्विवाद भने रहेन । उनी प्रधानन्यायाधीश बनेको १० महिनापछि तत्कालीन सत्तारुढ दल माओवादी र कांग्रेसले कार्कीले क्षेत्राधिकार नाघेर फैसला गरेको भन्दै उनीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । तर, त्यो सफल भएन । महाअभियोगविरुद्ध अदालतमा रिट परेपछि तत्कालीन न्यायाधीश चोलेन्द्र शम्शेरले त्यसलाई रोक्न अन्तरिम आदेश गरेका थिए ।