प्रहरीले माग्यो आगजनी र लुटपाटका सबुद, भिडिओ र फोटोहरू
प्रहरीले अनावश्यक बल प्रयोग गरेको तस्विर, फोटो तथा लिंकहरू निर्धक्क पठाउन भन्यो, यसरी पठाउन सकिन्छ
- | राजनीति | नेपाखबर | अपराध–घटना
- २७ भदौ २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज २७ भदौ : जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटमा संलग्नहरूलाई कारबाहीका लागि नेपाल प्रहरीले सबुद प्रमाण पठाएर सहयोग गर्न आव्हान गरेको छ ।
आम समुदायसँग अनुरोध गर्दै प्रहरीले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा डर सिर्जना हुने गरीका घटनासँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन भनेको हो । त्यस्ता प्रमाण नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा [email protected] पठाउन आग्रह गर्दै प्रहरीले सबुद दिनेहरूको गोपनीयता कायमै राख्ने स्पष्ट पारेको छ ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनको क्रममा देशभर थुप्रै सार्वजनिक तथा निजी भौतिक संरचना ध्वस्त पारिए, नगद, गरगहना तथा जिन्सीको लुटपाट पनि उत्तिकै भएका छन् ।
प्रहरीले गत चैत १५ को राजावादी प्रदर्शनमा उच्छृंखलता प्रदर्शन गर्ने सबैजसो मानिसको पहिचान गरी पक्राउ गरेको थियो ।
यसपटक त स्वयं प्रहरीका कार्यालय र व्यारेकमा अगजनी तथा तोडफोड भएको छ । हतियार, पोशाकदेखि मेसमा रहेका दाल, चामलसम्म लुटपाट भएका छन् ।
यसैबीच, विभिन्न माध्यममा प्रहरीसँग सम्बन्धित, प्रहरीले अनावश्यक बल प्रयोग गरेको तस्विर, फोटो तथा लिंकहरू पठाउन मिल्ने वा नमिल्ने भनेर धेरैले जिज्ञासा राख्दा प्रहरीले त्यस किसिमका सामाग्रीहरू समेत निर्धक्क पठाउन हुन अनुरोध गरेकोछ ।





0 Comments