बाघको त्रासमा कचनापुरका स्थानीय, रातभर पालैपालो जाग्राम बस्छन्

बाघको त्रासमा कचनापुरका स्थानीय, रातभर पालैपालो जाग्राम बस्छन्

नेपालगन्ज ३ असोज : बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको राप्तीसोनारी गाउँपालिकाको कचनापुर क्षेत्रमा यतीबेला बाघको त्रासले स्थानीय आतङ्कित भएका छन् । 

बाघको आक्रमणबाट चार दिनअघि कचनापुरको माथेबास मदुईस्थित जनमुखी सामुदायिक वनमा राप्तीसोनारी गाउँपालिका–३, सिनाबासकी ४५ वर्षीया लक्ष्मी थारुको मृत्यु भएपछि सो क्षेत्रमा बाघको त्रास बढेको हो । 

राप्तीसोनारी–२ माथेबास मदुईमा रहेका आफन्तको घरबाट आफ्नो घर सोही गाउँपालिका–३, सिनाबास फर्किने क्रममा लक्ष्मी थारुलाई बाघले खाएको अवस्थामा वनमा शव भेटिएको थियो । 

सो घटनापछि माथेबास, मदुई लगायत कचनापुर र सो वरिपरिका गाउँहरुमा समेत बाघको आतङ्कले स्थानीयलाई अत्यधिक त्रसित बनाएको कचनापुरका भूपेन्द्र ओलीले बताए ।

उनले भने–‘बाघको डरले गाउँ सुनसान छ, दिउँसो पनि स्थानीयले आफ्नो घरका ढोका बन्द गरेर बस्छन् । गाउँका बासिन्दाको दैनिक जीवनी नै बदलिएको छ, जङ्गलमा घाँस दाउरा गर्न जान पनि छोडेका छन् ।’

यो पनि राप्तीसोनारीको मदुईमा बाघले महिला खायो

बाघको आक्रमणबाट लक्ष्मीको मृत्युपछि गाउँको दैनिक जीवन नै अस्तव्यस्त भएको छ । यसअघि बेलुकीपख गाउँमा स्थानीय भेला भएर गफगाफ गर्ने, बालबालिकाले खेल्ने गर्थे । अहिले बेलुका नहुँदै गाउँ सुनसान हुने गरेको छ । साँझ परेपछि सबै घरमा बन्द हुन्छन् । 

Duduwa Tato hawa Bachau Image

कचनापुरका अर्का स्थानीय सुरेश भण्डारीले बाघको डरले अहिले मानिसहरू घर बाहिर निस्कन डराउन थालेको जनाउँदै कतिपय परिवारले पालैपालो जाग्राम बस्ने गरेको पनि बताए । बाघको त्रासकै कारण गाउँका स्थानीयले अहिल टर्च र लौरो लिएर समूहमा रातभरि होहल्ला गर्दै जाग्राम बस्न थालेको जनाइएको छ । 

बाघ नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जसँग अनुरोध गरिएको जनप्रतिनिधिहरुले जनाएका छन् । राप्तीसोनारी वडा नम्बर–३ का वडा अध्यक्ष मीनकुमार चौधरीले लक्ष्मीलाई बाघले खाएपछि निकुञ्जलाई बाघ नियन्त्रणका लागि अनुरोध गरिएको बताए ।

उनले सो क्षेत्रमा भएको यो पहिलो घटना नभएको जनाउँदै यसअघि पनि पटक–पटक बाघ, चितुवा र जङ्गली बँदेलको आक्रमण हुँदैआएको बताए । निकुञ्जबाट पानी र आहाराको खोजीमा निस्केका बाघले नजकिको गाउँबस्तीमा गत लामो समयदेखि आक्रमण गर्दैआएका छन् ।