जेनजीको नाममा पुर्व प्रदेश मन्त्रीद्वय भण्डारीलाल र विजयबहादुरद्वारा डुडुवामा आगजनी
कार्यालयको कामकाज ठप्प, भ्रामक प्रचार चिर्दै गाउँपालिका खुलाउन अध्यक्षको पहल
- | राजनीति | नेपाखबर | अपराध–घटना
- ३ असोज २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज ३ असोजः जेनजी आन्दोलनका नाममा बाँकेको डुडुवा गाउँपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी गरिएको बताइएकोछ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २५ र २६ गते लुम्बिनी प्रदेशका पुर्व प्रदेश मन्त्री तथा प्रदेश सभा सदस्य भण्डारीलाल यादव र पुर्व प्रदेश मन्त्री विजयबहादुर यादवको नेतृत्वमा करिब ३०–३२ जनाको समुहले डुडुवा गाउँपालिका कार्यालयमा प्रवेश गरि कर्मचारीमाथि धाकधम्कीसहित कुटपिट गरेको डुडुवा गाउँपालिकाले असोज ३ गते शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
जेनजी आन्दोलन पश्चात उत्पन्न परिस्थितिको आडमा गरिएको तोडफोड, आगजनीले यतिबेला बाँके डुडुवा गाउँपालिकाको कामकाजमा असहज बनेको । उनीहरुले ताला लगाउँदै गाउँपालिकाको आफ्नो नियन्त्रणमा राख्दा यतिबेला कार्यालयको सम्पुर्ण सेवा प्रभावित भएको छ ।
पालिकाका जनप्रतिनिधीहरुले आज शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीको नाममा केही उच्छृंखल समूह पालिकाभित्र प्रवेश गरि प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेयमाथि धाकधम्की दिदैँ कुटपिट र दुव्र्यवहारको घटनाप्रति गम्भीर आपत्ती समेत जनाएको छ ।
भदौ २५ गते राती करिब साढे ८ बजेको समयमा ८–१० जनाको समूह कार्यालयमा तोडफोड गरी कार्यालयको कागजात आगजनी गरेको विज्ञप्तिमा भनिएको छ । ‘२६ गते फेरी अर्को समूह कार्यालयमा प्रवेश गरि प्रमुख प्रशासकीय अधिकृत पाण्डेयमाथी कुटपिट तथा दुव्र्यवहार भएको छ । दुःखद यो घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा उल्लेख छ ।
उक्त समुहले जर्बजस्ती कार्यालयको भान्सा कोठामा पसी बोराभित्र मदिराका बोतल बाहिरबाट ल्याएर सामाजिक सञ्जालमा फोटो र भिडियो भाइरल बनाएकोप्रति समेत पालिकाले गम्भीर ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ–‘पालिकालाई अनावश्यक रुपमा बदनाम गरेको घटना दुःखद रहेको छ । आन्दोलनको नाममा घुसपैठ गरी विपक्षी समुहले पालिकालाई बदनाम गर्ने गरि अतिरञ्जित कार्य गरेको हो ।’
पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोद कुमार तिवारी, सगिर खाँ, वडा सदस्य राधेश्याम मौर्यलगायत कार्यपालिका सदस्यद्वारा सयुंक्त रुपमा जारी विज्ञप्तीमा उनीहरुले कुन हैसियत र कानूनले जबरजस्ती कार्यालयमा ताला खोलेरे अनावश्यक रुपमा बदनाम गर्ने नियतका साथ गरेको भ्रामक प्रचारबाजीको कार्य खेदजनक रहेको उल्लेख छ ।
समुहले कार्यालयमा ताला लगाएकोले अहिले हानी नोक्सानी बारे यकिन जानकारी नभएको अवस्था रहेको छ । स्थानीय प्रशासनसँग जनप्रतिनिधी र कर्मचारीको सुरक्षाको माग गर्दै हालसम्म कार्यालयको सम्पुर्ण सेवा अवरुद्ध रहेको अवस्थालाई तत्काल सहज रुपमा सुचारु गर्ने वाताबरण बनाउन पालिकाले सबै सरोकारवाला निकायलाई अपील गरेको छ ।
यसैबीच, डुडुवा गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले डुडुवा गाउँपालिकाको कार्यालय सञ्चालनमा नआउँदा सेवाग्राही र कर्मचारी मारमा परेको बताएकाछन् ।
उनले गाँउपालिका छिटै सञ्चालनमा ल्याउने गरि आवश्यक पहल र समन्वय गरिरहेको बताउँदै यसका लागि साथ र सहयोग गर्न गाउँबासीसँग अपील गरे ।
नेपाखबरसँग संक्षिप्त कुरा गर्दै उनले बदनियतका साथ जेनजी आन्दोलनको आडमा गाउँपालिकाभित्र प्रवेश गरि कार्यालयको सामाग्री, कागजात जलाउने कार्य भएको प्रति दुःख ब्यक्त गरे । उनले विपक्षीद्वारा गरिएको यो भ्रामक प्रचार छरपस्ट भएको बताउँदै यो कार्यले ‘मालिक’ (जनता) गाउँपालिकाबाट प्रदान हुने सबै सेवाबाट बञ्चित हुन पुगेको बताए ।
‘कार्यालयभित्र हामीलाई प्रबेश गर्न दिइएको छैन, उनीहरुले ताला लगाएकाछन् । के–कति क्षती भयो त्यो यकिन भन्न सकिदैन’ अध्यक्ष नरेन्द्रले भने–‘बदनियतका साथ अपराध गर्ने उनीहरुलाई हाम्रा ‘मालिक’ जनताले छाड्ने छैनन् । सत्यतथ्य सबै छरपस्ट छ ।’





0 Comments