डुडुवामा जेनजी आन्दोलनका सहिदको सम्झनामा श्रद्धाञ्जली सभा

बाँकेका स्वर्गीयद्वय सुलभराज र आयुसको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा
डुडुवामा जेनजी आन्दोलनका सहिदको सम्झनामा श्रद्धाञ्जली सभा

नेपालगन्ज ५ असोज : जेनजी आन्दोलनका क्रममा ‘सहिद’ भएका नेपालगन्जका स्वर्गीय सुलभराज श्रेष्ठ र आयुस थापासहित सहादत प्राप्त गरेका ब्यक्तिको सम्झनामा डुडुवा गाउँपालिकाले आईतबार बृहत श्रद्धाञ्जली सभा गरेको छ । 

गाउँपालिका कार्यालय बनकट्टी परिसरमा आयोजित श्रद्धाञ्जली सभालाई जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, डुडुवा–२ का वडाअध्यक्ष दुर्गाप्रसाद बर्मा, डुडुवा–३ का वडाअध्यक्ष आमोद तिवारी र बाँकेका जेनजी प्रतिनिधि ऋतिक शाहीले श्रद्धाञ्जली ब्यक्त गर्दै सम्बोधन गरे । 


उक्त सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ‘जेनजी’ले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम जस्ता विषयमा उठाएका मागहरु जायज रहेको भन्दै आन्दोलन सकिएपछि डुडुवामा एउटा समुहले कार्यालयका कागजातमा आगजनी गरेको र अर्को समुहले तालाबन्दीसहित कर्मचारीमाथी कुटपिट तथा दुव्र्यवहार गरेको बताए । तालाबन्दीका कारण गाउँपालिकाको काम ठप्प हुँदा आफ्ना मालिकहरु (जनता) ले सेवा नपाएको उनले बताए ।


जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका बाँकेका सुलभराज श्रेष्ठ र आयुस थापाको परिवारलाई डुडुवा गाउँपालिकाले एक लाख एक हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने अध्यक्ष चौधरीले घोषणा गरे । डुडुवा गाउँपालिकाको बारेमा भ्रम छर्ने गरी सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर केही ब्यक्तिले बद्नाम गर्ने काम गरेकोमा सचेत रहन अध्यक्ष चौधरीले सबैलाई आग्रह गरे । जनताबाट २०७४ र २०७९ सालमा पराजित भएका विजय यादव र भण्डारीलाल यादव(अहिर)को नेतृत्वमा केही ब्यक्तिहरु उचालिएर लगाइरहेको आरोपमा कुनै सत्यता नभएको उनको भनाई छ । 


जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले नक्कली जेनजीले डुडुवा गाउँपालिकामाथी निराधार आरोप लगाउँदै ताला लगाएर काम रोकेको बताए । यस्तै वडाअध्यक्षद्वय दुर्गाप्रसाद बर्मा र आमोद तिवारीले ब्यक्तिगत रिसिबी साँध्ने उद्देश्यले चुनाव हारेका केही ब्यक्तिको नेतृत्वमा एक समुहले गाउँपालिकामा तालाबन्दी गरेको बताए । 

यो पनि जेनजीको नाममा पुर्व प्रदेश मन्त्रीद्वय भण्डारीलाल र विजयबहादुरद्वारा डुडुवामा आगजनी



Duduwa Tato hawa Bachau Image

जेनजी प्रतिनिधी ऋतिक शाहीले आफुहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि आवाज उठाएर आन्दोलन गरेको स्मरण गराउँदै आन्दोलनको आडमा बाहिरका अराजक ब्यक्तिहरु आएर सरकारी सम्पत्तीमा आगजनी, तोडफोड र लुटपाट मच्चाएको बताए । जेनजी आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठ र आयुस थापासहित धेरैले देशमा केही परिवर्तन ल्याउनका लागि रगत बगाएको उनले प्रष्ट्याए ।


जेनजी आन्दोलनका नाममा घुसपैठ गरी आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने शाहीको माग छ । श्रद्धाञ्जली सभामा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, अन्य वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरुसहित करिव तीन हजारको संख्यामा उपस्थिती रहेको थियो । सो क्रममा जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।