गृहको आग्रहः हराएका हातहतियार असोज मसान्तसम्म फिर्ता गर्नु
- | नेपाखबर | अपराध–घटना
- १० असोज २०८२, शुक्रवार
- नेपाखबर
नेपालगन्ज १० असोज : गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौं लगायतका देशभरका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन गृह मन्त्रालयले आग्रह गरेको छ ।
हराएका हातहतियार र खरखजाना फेला परेमा कानूनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, देशभरका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध छ ।
सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ। सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानूनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।
यसैबीच, जेनजी प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ ।
आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेशसमेत रहेकाले प्रारम्भिक काम सुरु गरेको छ । सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गौरीबहादुर कार्कीको नेतृत्वको जाँचबुझ आयोग गठन गरेको छ ।
आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर, गैरकानूनी रूपमा भएका र हुने गतिविधिमा कानूनअनुसार कारबाही हुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।





0 Comments