दशैँको अवधिमा बाँकेमा ९९ दुर्घटना : ४ जनाको मृत्यु, १६ जना गम्भीर घाइते
- | नेपाखबर | अपराध–घटना
- २१ असोज २०८२, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज २१ असोज : दशैंको १४ दिनको अवधिमा सडक दुर्घटनामा परि बाँकेमा ४ जनाले ज्यान गुमाएकाछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार दशैंको १४ दिनको अवधिमा भएका झण्डै एक सय सवारी दुर्घटनामा परि ४ जनाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा जिल्लामा ९९ सवारी दुर्घटना भएका छन् । सो दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएकाछन् । यस्तै सोही अवधिमा १४० जना साधारण घाइते भएको ट्राफिक प्रहरीले जनाएकोछ ।
यसैबीच, लुम्बिनी प्रदेशमा दशैँको अवधिमा ५३६ वटा सवारी दुर्घटना भएका छन् । असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ वटा जिल्लामा गरी ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो ।
ती दुर्घटनामा १४८ जना गम्भीर घाइते र ५८७ जना साधारण घाइते भएकाछन् । मृत्यु हुनेमा पुरुष १२ जना, महिला ७ जना र बालबालिका ३ जना छन् । गम्भीर घाइते हुनेमा पुरुष ९६ जना, महिला ३२ जना र बालबालिका १९ जना छन् । साधारण घाइतेतर्फ पनि पुरुषको संख्या धेरै छ । प्रहरीका अनुसार साधारण घाइतेतर्फ ३७४ जना पुरुष, ४८ जना महिला र ७७ जना बालबालिका छन् ।
नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दशैँको १४ दिनको अवधिमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देही जिल्लामा भएको छ । रुपन्देहीमा १३५ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु हुनुका साथै २० जना गम्भीर घाइते र ११९ जना साधारण घाइते भएका छन् ।
यस्तै दोस्रोमा बाँके जिल्ला रहेकोछ भने तेस्रोमा बर्दिया जिल्ला रहेको छ । बर्दिया जिल्लामा ९३ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५५ जना गम्भीर घाइते भएका छन् । यहाँ ५३ जना सामान्य घाइते भएका छन् ।
त्यसपछि क्रमश नवलपरासी, दाङ, कपिलवस्तु, पाल्पा, गुल्मी, प्युठान, अर्घाखाँची र रोल्पामा सडक दुर्घटना भएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा कम सडक दुर्घटना पूर्वी रुकुममा भएकोछ । पूर्वी रुकुममा एक सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते र एक जना साधारण घाइते भएका छन् ।





0 Comments