नियमित महाधिवेशन गर्नुको विकल्प छैन : अध्यक्ष तिमिल्सेना
नेपालगन्ज २४ कार्तिक : नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेशचन्द्र तिमिल्सेनाले नियमित महाधिवेशन गर्नुको विकल्प नभएको बताएकाछन् ।
नेपाली काँग्रेसका नेता समेत रहेका महासंघ अध्यक्ष तिमिल्सेनाले पार्टीभित्र जेनजी पुस्ताको प्रतिनिधित्व गराउन नियमित महाधिवेशन गर्नुको विकल्प नभएको धारणा राखेका हुन् ।
नेपालगन्जमा सोमबार बिहान भएको पत्रकार भेटघाटमा उनले भने–‘विशेष महाधिवेशनले केन्द्रिय नेतालाई मात्र व्यवस्थापन गर्छ, १४ औं महाधिवेशनमा निर्वाचित भएका वडा तहदेखि केन्द्रसम्मका पदाधिकारीको चार वर्षे कार्यकाल आउँदो मंसिरमा सकिँदैछ, यस्तो अवस्थामा नियमित महाधिवेशन गर्नु नै उत्तम विकल्प हो ।’ उनले अगाडी थपे,‘नियमित महाधिवेशन गर्दा नयाँ क्रियाशीलता दिएर जेनजी पुस्ता समेतको प्रतिनिधित्व गराउन सकिन्छ, नियमित महाधिवेशनले मात्र जेनजी आन्दोलनको भावनाको कदर गर्नेछ ।’
नियमित महाधिवेशनको नाममा पार्टीका वर्तमान पदाधिकारीको कार्यकाल थप्ने पक्षमा किसान महासंघ नरहेको उनले प्रष्ट पारे । पार्टीका अधिकांश भातृ तथा शुभेच्छुक संस्थाले नियमित महाधिवेशन गर्नुपर्ने विषयमा सहमति गरेर पार्टी नेतृत्वलाई सुझाव दिइसकेको अध्यक्ष तिमिल्सेनाले जानकारी दिए ।
उनले किसानका विभिन्न समस्या र मागलाई सम्बोधन गर्न सरकारलाई दबाब स्वरुप महासंघले जिल्लासम्म अभियान सञ्चालन गर्न लागेको प्रष्ट्याए।
‘हाम्रा एजेण्डालाई हामी जिल्ला–जिल्लामा लगेर जान्छौं, किसानमा केही न केही चेन्ज आउनुपर्छ,’ उनले भने, ‘किसानलाई हामीआधुनिक प्रविधिसँग जोडेर व्यवसायमुखी बनाउन चाहन्छौं ।’ महासंघले समयमै धान खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई दबाब सिर्जना गर्दै आएको र उखु, दुध र स्याउ उत्पादक किसानको बाँकी बक्यौता भुक्तानी गराउन पनि सरकार लगायतका निकायसँग आवश्यक समन्वय गरेको अध्यक्ष तिमिल्सेनाको जोड छ ।
किसानलाई रासायनिक मल वितरण कार्यलाई प्रभावकारी बनाउन महासंघले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराइरहेको बताउँदै भने, ‘रासायनिक मल बिक्री, वितरण गर्ने जिम्मा सहकारी संस्थालाई दिँदा कतै राम्रो भएको छ, कतिपय ठाउँमा विकृति पनि निम्तिएको छ, किसानले सहकारीको विकल्पमा सिधैं मल खरिद गर्न पाउनुपर्छ।’ नेपाल–भारत खुल्ला सीमाका कारण नेपाली किसानले उत्पादन गर्ने वस्तुलाई भारतीय उत्पादनले विस्थापित गर्ने गरेको उनको भनाइ छ।





0 Comments