बाँकेका मतदान केन्द्रको स्थलगत अनुगमन, सुरक्षा रणनीति र योजना तयार गरिदैँ
स्थलगत अनुगमनका क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ लगायत ।
- | राजनीति | नेपाखबर | अपराध–घटना
- २ मंसिर २०८२, सोमवार
- नेपाखबर
नेपालगन्ज १ मंसिर : बाँकेका सुरक्षा अधिकारीहरुले जिल्लाका निर्वाचन केन्द्रहरुको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण कार्य सुरु गरेकाछन् ।
जिल्लामा कायम गरिएका मतदानस्थल र मतदान केन्द्रहरुको सुरक्षा दृष्टिकोणले समग्र अवस्था बुझ्न तथा सोही बमोजिम स्थानीय सुरक्षा रणनीति तयार पार्न मतदान स्थलहरुको स्थलगत अनुगमन निरीक्षण सुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।
उनले निर्वाचनमा शान्ति सुरक्षा प्रमुख विषय भएको जनाउँदै सुरक्षा अवस्थामा कुनै चुक हुन नदिन स्थलगत रुपमा मतदानस्थलमै पुगेर समग्र अवस्था अध्ययन गरिरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी तामाङले निर्वाचन सुरक्षा प्रशासन र प्रहरीको जिम्मेवारी भएकाले निर्वाचनका बेला खटाउनुपर्ने सुरक्षाकर्मीको सङ्ख्या र भौतिक पूर्वाधारको अवस्था कस्तो छ भनेर स्थलगत रुपमा अनुगमन गरिरहेको प्रष्ट पारे ।
उनले हालसम्म नरैैनापुर, राप्तीसोनारी, खजुरा र डुडुवा गाउँपालिकाका विभिन्न मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरेर अवस्था बुझ्ने कार्य भएको र सो क्रम जारी रहेको बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका मतदानस्थल र मतदान केन्द्रको अवस्था तथा संवेदनशीलताका सम्बन्धमा विस्तृत जानकारी अध्ययन गरेर प्रतिवेदन दिन सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक कार्यदल समेत गठन गरिएको प्रजिअ तामाङ्ले बताए । कार्यदलको प्रतिवेदनलाई हेरेर सुरक्षा रणनीति र योजना तयार गरिने पनि उनले जनाए ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले पनि निर्वाचन सुरक्षालाई लक्षित गरेर जिल्लाका सुरक्षा प्रमुखहरु फिल्डमा गएर मतदान केन्द्र र स्थलको अनुगमन गरिरहेको प्रष्ट्याए ।
उनले अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्र निश्चित गरेर सोही अनुसार चुनावको बेला सुरक्षाकर्मी परिचालन गरिने बताए ।
मतदानस्थल र मतदान केन्द्रको स्थलगत अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी तामाङ, प्रहरी प्रमुख जिसीसँगै राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख हरिस बिष्ट र सशस्त्र प्रहरी बाँके बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालको सहभागिता छ ।
निर्वाचन आयोगले बाँकेमा १३८ मतदान स्थल र ३८० मतदान केन्द्र निर्धारण गरेको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तय भएको छ ।





0 Comments