डोजर लिएर सडकमा निस्किए नेपालगन्जका मेयर विष्ट, अतिक्रमित घर टहरा हटाउन सुरु

डोजर लिएर सडकमा निस्किए नेपालगन्जका मेयर विष्ट, अतिक्रमित घर टहरा हटाउन सुरु

नेपालगन्ज ११ मंसिर : नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण गरि निर्माण गरेका संरचना भत्काउन थालेकोछ । 

सुर्खेतरोड अर्थात रत्न राजमार्ग(कोहलपुर–जमुनाह) आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा नेपालगन्ज उपमहानगरपालिकाले आज बिहीबार देखि हटाउन सुरु गरेको हो ।

उपमहानगरले बिपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घर टहरा हटाउन सुरु गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्यस क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको जानकारी दिए ।

उनले हरियाली प्रवद्र्धन गर्न रुख बिरुवासमेत रोपिने उल्लेख गर्दै डेढ वर्षमा गणेशमान चोकदेखि बिपीचोक र धम्बोझी चोकदेखि पुप्पलाल चोकसम्म पूर्वाधार निर्माण गरिने जानकारी दिए ।

यो पनि वीपी चोकदेखी धम्बोझी चोकसम्म सडक सीमाभित्रका संरचना हटाउन १५ दिने सूचना

४९ लाख ५० हजारमा सो ठेक्का लगाइएकाले हाल बिपीचोकदेखि धम्बोझी चोकसम्म अतिक्रमण हटाइने उनको भनाइ छ । उपमहानगरले यसअघि सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरेका जग्गा खाली गर्न आग्रह गरेको थियो ।

Duduwa Tato hawa Bachau Image

उपमहानगरपालिकाले गत कात्तिक १८ गते एक सार्वजनिक सूचना प्रकाशित गरेर सुर्खेतरोडको विपी चोकदेखि धम्बोझी चोकसम्मको सडकको सात फिट भित्रका सबै संरचना १५ दिन भित्र हटाउन अल्टिमेटम दिएको थियो । तर, सूचना प्रकाशित भएको एक महिना पुग्नै लाग्दा समेत सो सडकको दुबैतर्फको सात फिटभित्र निर्माण गरिएका टहरा, होर्डिंग बोर्ड लगायतका संरचना नहटाइएकोले उपमहानगरपालिकाले डोजर चलाएर बिहीबारबाट ती संरचना हटाउन सुरु गरेको हो । 

१५ दिने अल्टिमेटम भित्र ती संरचना नहटाइएकोले डोजर लगाएर हटाउन लागिएको हुँदा त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति आफैँ हुनुपर्ने र हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल गरिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।