बहराईचमा नरभक्षी ब्वाँसोले लियो नौ जनाको ज्यान, ड्रोनमार्फत निगरानी

बहराईचमा नरभक्षी ब्वाँसोले लियो नौ जनाको ज्यान, ड्रोनमार्फत निगरानी

नेपालगन्ज १४ मंसिर : भारतको उत्तर प्रदेश राज्यका विभिन्न गाउँमा पछिल्ला हप्ताहरूमा ब्वाँसोको आक्रमणबाट नौ जनाको मृत्यु भएपछि नरभक्षी सम्भावित ‘किलर वुल्फ’ ट्र्याक गर्न ड्रोन तैनाथ गरिएको वन अधिकारीहरूले आइतबार बताएका छन् ।

मृतकमध्ये अधिकांश बालबालिका रहेकाले स्थानीय बासिन्दाहरू अत्यन्तै त्रसित बनेका छन् । शनिबार बहराइच जिल्लामा १० महिनाकी एक बालिकालाई आमा छेउमै सुतिरहेको अवस्थाबाट ब्वाँसोले खोसेर लगेपछि खेतमा मृत फेला पारिएको अधिकारीहरूले बताए।

त्यसअघि शुक्रबार पाँच वर्षीय एक बालकलाई घरको बाहिर आमासँग देखेरै ब्वाँसोले तानेर लगेको थियो । उखुको खेतमा टाउको काटिएको अवस्थामा फेला परेका ती बालकको अस्पताल पु¥याउने क्रममा मृत्यु भएको थियो ।

अधिकारीहरूका अनुसार सेप्टेम्बरयता यस क्षेत्रका धेरै गाउँमा यस्तै ढाँचाका आक्रमणहरू दोहोरिँदै आएका छन् । प्रहरी, वन विभाग तथा मिडिया रिपोर्टहरूका अनुसार बहराइचमा पछिल्ला तीन महिनामा ब्वाँसोको आक्रमणबाट कम्तीमा नौ जनाले ज्यान गुमाइसकेका छन्, जसमा एक वृद्ध दम्पती पनि परेका छन् ।

वन अधिकृत राम सिंह यादवका अनुसार घटनाहरू बढेपछि प्रभावित क्षेत्रमा ड्रोन, क्यामेरा ट्र्याप तथा प्रशिक्षित शुटरहरू तैनाथ गरिएको छ। उनले भने, ‘यस पटक ब्वाँसोको व्यवहार असामान्य देखिएको छ। हाल तिनीहरू दिउँसो नै सक्रिय हुँदै आएका छन्, जुन सामान्यतया देखिँदैन।’ अन्य अधिकारीहरूले पनि जनावरहरू असामान्य रूपमा साहसी र निडर देखिन थालेको बताएका छन्।

Duduwa Tato hawa Bachau Image

गतवर्ष पनि बहराइचमा यस्तै आक्रमणको लहर देखिएको थियो, जसमा ब्वाँसोको समूहले कम्तीमा नौ जनाको ज्यान लिएको थियो । बहराइच जिल्ला नेपाल सीमा क्षेत्रमा अवस्थित घाँसे मैदान हो, जहाँबाट हिमालयको फेदीसम्म बाक्लो जङ्गल फैलिएको छ ।

विज्ञहरूका अनुसार ब्वाँसोहरूले सामान्यतया मानिस वा गाईवस्तुहरूलाई भोकमरीको अवस्थामा मात्र अन्तिम विकल्पका रूपमा आक्रमण गर्छन् । साना मृगहरू जस्ता कम जोखिमयुक्त शिकार तिनको प्राथमिकता हुने बताइन्छ ।

भारतभर रहेका करिब तीन हजार ब्वाँसोमध्ये धेरैजसो संरक्षित क्षेत्र बाहिर, मानिसहरूको बस्ती नजिकै बसोबास गर्छन् । ‘प्लेन्स वुल्फ’ भनेर चिनिने यी जनावरहरू हिमालयन वुल्फभन्दा साना हुन्छन् तथा कहिलेकाहीँ स्यालसँग भ्रमित हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

स्थानीय बासिन्दाहरू अझै त्रसित अवस्थामा दैनिक जीवन बिताइरहेका छन् । ‘हाम्रा छोराछोरी घरभित्र पनि सुरक्षित छैनन्’, एक बासिन्दाले भने, ‘हामीलाई सबैभन्दा ठूलो चाहना यही हो कि यी आक्रमणहरू रोकिऊन् र हामीलाई सामान्य जीवन फर्किन दिनुहोस ।’ -रासस