जेनजी आन्दोलनका सहिद : एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति

जेनजी आन्दोलनका सहिद : एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति

नेपालगन्ज २० मंसिरः “सुलभ हाम्रो सन्तानको आँखाको नानी थिए । उनी सानैदेखि जति आज्ञाकारी थिए, त्यति नै इमान्दार पनि थिए ।” यो भनाइ हो सुलभका ठूलो बुवा राजन श्रेष्ठको । गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा सुलभ श्रेष्ठले ज्यान गुमाएका थिए ।

यो पनि नेपालगन्जका जेनजी सहिदद्वय शुलभ र आयुषको नाममा सडक र चोक निर्माण हुने

‘भ्रष्टाचार अन्त्य हुनुपर्छ’ भन्ने मूल नारालाई एजेण्डा बनाएर जेनजीले गरेको आन्दोलनमा सुलभलाई गुमाउँदाको पीडालाई राजनले गहिरो भावमा व्यक्त गर्दै भन्छन्, “उनी सधैँ आफ्नो परिवार र साथीको हेरचाहमा तत्पर रहन्थे । पढाइमा अब्बल, खेलकुदमा सक्रिय र मिलनसार थियो ।”

यो पनि डुडुवामा जेनजी आन्दोलनका सहिदको सम्झनामा श्रद्धाञ्जली सभा

अमेरिका पढ्न जाने तयारी गरेका सुलभले नेपालमै केही गर्ने सपना बोकेको बताउनुहुन्छ सुलभको ठूलोबुवा राजन श्रेष्ठ । “बाँकीको पढाइ पूरा गर्नका लागि उनी अमेरिका जाने तयारी गरेको थियो । र अमेरिका पढाइ सकेर नेपालमै फर्कने उनको योजना हामीलाई सुनाएका थिए ।” नेपालमै केही गर्नुपर्छ भन्ने सोच बोकेका सुलभको सपना अन्ततः आन्दोलनमा लागेको गोलीले चकनाचुर पारिदियो । ठूलोबुवा राजनका अनुसार गोलीले सुलभको सपना मात्रै होइन, घरको भविष्य र देशको सम्भावना दुवै तोडिदियो ।

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका सुलभ एक साधारण परिवारमा जन्मिएका २३ वर्षीय युवा थिए । एउटा शिक्षित परिवारमा जन्मिएका सुलभको हुर्काइ बढाई असाधारण सम्भावनासहित अघि बढ्दै थियो तर, आन्दोलनमा रोपिएको गोलीले केबल एक युवा जीवनको अन्त्य मात्र गरेन, एउटा परिवार, एउटा सहर, अनि देशको भविष्यमा गहिरो घाउ कोरिदियो ।

सुलभका कुरा गर्दै गर्दा ठूलोबुवा राजनको आवाज अझै काँपिरहेको थियो । सुलभ बाबुआमाका एक मात्र सन्तान हुन् । नर्सरीदेखि १० कक्षासम्म भेरी इङ्लिस मिडियम बोर्डिङ स्कुल नेपालगञ्जमा नै पढ्नु भएको थियो । त्यसपछि काठमाडौँ इञ्जिनियरिङ कलेजबाट इञ्जिनियरिङ गरे । “सुलभले नेपालमै केही गर्छु भन्थ्यो”, नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा बस्दै आएका आर्यन श्रेष्ठ सुलभका साथी हुन् भने नातामा भाइ पर्छन् । 

लुम्बिनी विश्वविद्यालयमा स्नातक तहमा इञ्जिनियरिङ पढ्दै गरेका आर्यन भन्छन्, “हामी दुई नातामा दाजु भाइ भए पनि हामीबिच साथीको सम्बन्ध बढी थियो । आर्यन भन्छन्, “सुलभ सहयोगी, नम्र, असाधारण अनुशासनमा हुर्किएका मान्छे थिए । उनी विदेश पलायनमा होइन, नेपालमै केही गर्छु भन्ने सपना बोकेका थिए । देशकै भविष्य बनाउने योजना थियो तर अब त्यो देश बनाउने हात अस्तायो ।” 

यो पनि जेनजी आन्दोलनमा ज्यान गुमाएका सुलभको दाहसंस्कार गरियो

आर्यनले गम्भीर स्वरमा थपे, “सुलभको मृत्युले नेपालगञ्जको एक परिवार मात्रै रोएको छैन, सिङ्गो नेपालले आफ्नो सम्भावना गुमाएको छ । कुनै देशका सपना बन्दुकको आवाजले मर्नु हुँदैन ।”

सुलभका भाइ आर्यनका अनुसार सुलभ सधैँ आफ्नो परिवार र साथीप्रति सहयोगी भावनाको थिए । उनी भन्छन्, “दाजु पढाइमा अब्बल थिए । सबैलाई सहयोग गर्न अघि सर्नुहुन्थ्यो । उहाँ खेलकुदमा सक्रिय र मिलनसार हुनुहुन्थ्यो ।” आफ्नो उमेरमा नेतृत्व देखाउने यस्तो क्षमता भएको युवक गुमाएको पीडा जीवनभरि भइरहने आर्यन बताउछन् । 

Duduwa Tato hawa Bachau Image

सुलभको भावि योजनाका विषयमा आर्यन भन्छन्, “उहाँमा केबल सफल हुने लक्ष्य मात्र थिएन, सधैँ आफ्नै देशमै केही परिवर्तन गर्नुपर्छ भनेर हामीसँग भनिरहनुहुन्थ्यो ।” सुलभको अमेरिका पढ्न जाने योजना थियो, तयारी पनि थियो तर, त्यहाँ नबस्ने योजना रहेको उनले सुनाए । आर्यन भन्छन्, “उहाँ हाम्रो आशा, हाम्रो भविष्य, हाम्रो देशको सम्भावना हुनुहुन्थ्यो । तर, आन्दोलनमा लागेका ती केही सेकेन्डका गोलीले उहाँको सपना र सम्भावना दुवै च्यातिदियो ।”

यो पनि जेनजी आन्दोलन : आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

आर्यनले जस्तै सोही वडाका वडा अध्यक्ष प्रमोद रिजालले पनि सुलभ वडाकै गर्व गर्न लायक युवा भएको बताए । उनले भने, “यो क्षतिले हाम्रो मात्रै होइन, देशकै सम्भावनामा क्षति पुगेको छ । सुलभको निधनले हामीलाई बाँचुन्जेल मर्माहित बनाइ रहने छ । मेहनती, अनुशासित र भावी नेतृत्व देखिने जस्ता युवा मध्ये एक थिए । यस्तो सम्भावना बोकेको युवा हामीबाट हिंसात्मक घटनामा खोसिनु हाम्रो वडा मात्र होइन, सिङ्गो देशकै क्षति हो ।”

जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका सुलभलाई सम्झँदै नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख उमा थापामगर भन्छिन्, “भगवानले नै राम्रो मान्छे छान्नु हुँदो रहेछ ।” एउटै टोलवासीको नाताले पूर्वउपमेयर थापाले सुलाभलाई एउटा इमान्दार विद्यार्थी मात्र नभई इमान्दार युवकका रूपमा चिन्ने गरेको बताए ।

उनले राज्यले सुलभ मात्र होइन, सबै सहिद परिवारलाई पैसा दिएर पीडा पखाल्न नसकिने पनि बताइन् । “वास्तविक मल्हम त न्याय हो, पीडाको गहिराइ बुझेर दिएको न्यायले नै सम्पूर्ण सहिद परिवारको घाउमा मलम लाग्ने छ”, उनले भनिन् । -रासस