शीतलहर पूर्वानुमानः बाँकेका एक लाख ७९ हजार जनता प्रभावित हुने

कुन पालिकामा कति प्रभावित हुने ?
शीतलहर पूर्वानुमानः बाँकेका एक लाख ७९ हजार जनता प्रभावित हुने

File Photo

नेपालगन्ज २९ मंसिर : जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यसवर्ष जिल्लाका एक लाख ७९ हजार जनता शीतलहरबाट प्रभावित हुन सक्ने पूर्वानुमान गरेकोछ ।

समितिका अनुसार २०८२ का लागि तयार गरिएको शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शीतलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बाँकेका सबै स्थानीय तह शीतलहरबाट प्रभावित हुन सक्ने देखिएको जनाउँदै त्यसको सबैभन्दा बढी प्रभाव सहरीभन्दा ग्रामीण क्षेत्रका बासिन्दालाई पर्ने देखिएको बताए ।

उनले शीतलहरबाट सबैभन्दा बढी नरैनापुर, राप्तीसोनारी, जानकी, डुडुवा र बैजनाथ गाउँपालिका प्रभावित हुनेछ । भने नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा तुलनात्मकरुपमा कम प्रभाव देखिने अनुमान गरिएको पनि बताए ।

कुन पालिकामा कति प्रभावित हुने ?

शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा गरिएको पूर्वानुमान अनुसार शीतलहरबाट नेपालगन्जमा ८ हजार ५२४ परिवारका ४२ हजार ६२०, कोहलपुर नगरपालिकामा चार हजार १३८ परिवारका २० हजार ६९४ जना, खजुरा गाउँपालिकाका तीन हजार १९३ परिवारका १५ हजार ९६७ जना, जानकी गाउँपालिकाका तीन हजार ८८९ परिवारका १९ हजार ४४८ जना प्रभावित हुने देखिएको छ ।

Duduwa Tato hawa Bachau Image

त्यस्तै, बैजनाथ गाउँपालिकाका तीन हजार ५२० परिवारका १७ हजार ६०३ जना, राप्तीसोनारी गाउँपालिकाका तीन हजार ८७२ परिवारका १९ हजार ३६३ जना, नरैनापुर गाउँपालिकाका चार हजार २१८ परिवारका २२ हजार १३४ जना, डुडुवा गाउँपालिकाका चार हजार २१८ परिवारका २१ हजार ९१ जना शीतलहरबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

विपद् व्यवस्थापन समितिका अनुसार यो तथ्याङ्क विषेश गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्कता भएका तथा २०७१, २०७४ र २०७९ सालको बाढीबाट पूर्ण प्रभावित परिवार भई घरवारविहीनको तथ्याङ्कको आधारमा छ ।

बाँके जिल्ला गर्मीमा अत्यधिक गर्मी हुने, लू चल्ने तथा जाडो मौसममा शीतलहर चलेर अत्यधिक जाडो हुने जिल्लामा पर्दछ । बाँके जिल्लाको अधिकतम तापक्रम ४६ डि.से. र न्यूनतम ४.२ डि.से.सम्म रेकर्ड गरिएको छ । हालसम्म मापन गरिएकोमा अधिकतम वार्षिक वर्षा १९१२ मि.मि., औसत सापेक्षिक आद्र्रता ७१.४ रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।