खजुरा क्षेत्रका सार्वजनिक ऐलानी जग्गामा जेसीबी लगाएर अवैध उत्खनन्

खजुरा क्षेत्रका सार्वजनिक ऐलानी जग्गामा जेसीबी लगाएर अवैध उत्खनन्

नेपालगन्ज २९ मंसिर : बाँकेको खजुरा क्षेत्रका सार्वजनिक ऐलानी जग्गामा अवैध उत्खनन् भइरहेको पाइएकोछ । 

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधनहरूलाई ईलाका प्रहरी कार्यालय धनौली खजुराले नियन्त्रणमा लिएपछि यस्तो रहस्य बाहिरिएको हो । 

खजुरा गाउँपालिका–५,६ (साविक उढरापुर) र ८ (साविक रनियापुर) का विभिन्न स्थानका सरकारी सार्वजनिक ऐलानी जग्गाबाट अवैध रूपमा माटो तथा बालुवा उत्खनन् र ढुवानी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय धनौलीको प्रहरी टोलीले उत्खनन्मा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिएको हो ।

ऐलानी जग्गाबाट अवैध रूपमा माटो तथा बालुवा उत्खनन् र ढुवानी भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एउटा जेसीबी, एउटा टिपर र ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सबै सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि खजुरा गाउँपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

Duduwa Tato hawa Bachau Image

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाउँपालिकाले नियम विपरीत उत्खनन् तथा ढुवानी गरेका सबै सवारी साधनलाई जरिवाना तिराएर छोडेको छ । 

जरिवाना तिराएर उत्खनन् र ओसारपसारमा प्रयोग भएका सवारी साधन छोडेको प्रति स्थानीय कर्ण परियारले असन्तुष्टि पोखे । उनले भने–‘स्थानीय सरकारले सरकारी, सार्वजनिक तथा ऐलानी सम्पत्तीको संरक्षण गर्न सकेको छैन । यसरी सरकारी सम्पत्ती नोक्सान गर्नेलाई सामान्य जरिवाना तिराउनु भनेको फेरि अपराध गर्न छुट दिनु सरह हो ।’

उक्त क्षेत्रमा कसले किन त्यसरी माटो बालुवा उत्खनन् गरेर आफूखुसी बेचिरहेको छ, त्यो पत्ता लगाएर कारबाही गरिनुपर्ने परियारको माग छ ।

यता, अवैध रुपमा बालुवा, माटो उत्खनन् एवं ढुवानी गर्ने कार्य भइरहेको गुनासो डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानबाट पनि आएकोले सो क्षेत्रमा पनि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।