कम भिजिविलिटीका कारण नेपालगन्ज विमानस्थलबाट उडान र अवतरण ठप्प

कम भिजिविलिटीका कारण नेपालगन्ज विमानस्थलबाट उडान र अवतरण ठप्प

नेपालगन्जन ८ पुष : पछिल्ला केहिदिनदेखि मौसममा आएको परिर्वतनले बाँके लगायत यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । बाक्लो शीतलहर तथा कुहिरोका कारण कम भिजिबिलिटी हुँदा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । 

नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार मङ्गलबार विहानैबाट लागेको बाक्लो हुस्सु र कुहिरो तथा चलेको शीतलहरले नेपालगन्ज बिमानस्थल बन्द हुँदा कुनै पनि हवाइ उडान हुन नसकेको हो । 

हुस्सु र कुहिरोका कारण ४०० देखि ६०० मिटर मात्र भिजिबिलिटी हुँदा विमानस्थल बन्द रहेको र सोही कारणले नेपालगन्जबाट पहाडी जिल्ला र काठमाडौंका लागि हुने कुनै पनि उडान तथा अवतरण मङ्गलबार दिउँसो ३ बजेर ५० मिनेटसम्म नभएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ । 

हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा उडान शुरु गर्न नसकिएको विमानस्थल टावरले जनाएको छ । नेपालगन्ज विमानस्थलको टावरले दिएको जानकारीअनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनुपर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलिटी हुनुपर्नेमा मङ्गलबार दिउँसो एक बजेर ५० मिनेटसम्म ६०० भन्दा बढी भिजिबिलिटी नभएकाले उडान सुरु गर्न नसकिएको हो । 

विमानस्थल बन्द रहेकाले यहाँबाट पहाडी जिल्लाका लागि बिहान हुने सबै उडान रद्द गरिएका छन् । काठमाडौंका लागि हुने सबै उडान अवरुद्ध भएका छन् । सोमबार पनि दिउँसो १ बजेर ३० मिनेटपछि मात्र नेपालगन्ज विमानस्थल खुलेपछि हवाई उडान भएका थिए । त्यसअघि बिहानका सबै उडान अवरुद्ध भएका थिए । 

नेपालगन्जका लागि काठमाडौंबाट बिहान ७ बजेर २० मिनेटमा बुद्ध एअरको जहाज उड्ने नियमित तालिका भए पनि नेपालगन्ज विमानस्थल बन्द रहेका कारण हालसम्म पनि उड्न नसकेको बुद्ध एअर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले बताए ।

Duduwa Tato hawa Bachau Image

उनले नेपालगन्ज विमानस्थल खुलेपछि मात्र काठमाडौंबाट जहाज उडाइने जानकारी गराए । नेपालगन्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुई वटा नियमित उडान गर्दैआएको छ । सोही प्रकारले नेपालगन्जबाट पहाडी जिल्लामा पनि बिहान बढी उडान हुने गरेका छन् । 

नेपालगन्जबाट हवाई उडान अवरुद्ध भएपछि काठमाडौ र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्रुहरु समस्यामा परेका छन् । टिकट लिएका अधिकांश यात्रुहरु जहाजको प्रतीक्षामा विमानस्थलमा छन् ।

यसैबीच, नेपाली काँग्रेसका केन्द्रिय कार्यबाहक सभापति पुर्ण बहादुर खड्का र महामन्त्री गगन कुमार थापा मंगलबार नेपालगन्ज आउने तय भएपनि मौसमका कारण आउन नसकेको नेपाली काँग्रेस बाँकेले जनाएकोछ। 

नेपाली काँग्रेस बाँकेको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को भवन उद्घाटन गर्न कार्यबहाक सभापति खड्का र महामन्त्री थापा नेपालगन्ज आउने कार्यक्रम थियो ।