पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरूबीच छलफल : निर्वाचन सफल बनाउने समझदारी
नेपालगन्ज ८ पुष : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीच सामूहिक भेटवार्ता भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा आज (मङ्गलबार) राष्ट्रपति भवन शीतल निवासमा उच्चस्तरीय छलफल भएको हो ।
राष्ट्रपति पौडेलले बोलाएको उक्त बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्की, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी भए ।
आन्दोलनपछि शीर्ष नेतृत्व यसरी एकै ठाउँमा बसेर संवाद गरेको यो पहिलो पटक हो ।
शीतल निवास स्रोतका अनुसार उक्त संवादले आगामी फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका निम्ति वातावरण बनाउने समझदारी भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।
“देशको परिस्थिति गम्भीर संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,” राष्ट्रपति पौडेलले सो छलफलमा बताएको उनले बताए ।
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए ।
छलफल साढे २ घण्टा भएको थियो । दिउँसो साढे ३ बजेबाट उनीहरू छलफलमा जुटेका थिए । यद्यपी छलफलका विषयहरू सार्वजनिक भएका छैनन् ।





0 Comments