तीन दशक लामो चुनावी प्रतिस्पर्धाबाट बाहिरिए डा. धवलशमशेर

तीन दशक लामो चुनावी प्रतिस्पर्धाबाट बाहिरिए डा. धवलशमशेर

नेपालगन्ज १२ पुष : आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको ‘दिनगन्ती’ शुरु भइसकेकोछ । निर्वाचनको मिति नजिकिदै जाँदा दुई÷दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर बनेका डाक्टर धवल शम्सेर राणाले अब चुनाव नलड्ने उद्घोष गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री समेत रहेका मेयर राणाले पार्टीको क्षेत्र नम्बर–२ को बैठकमा आफू चुनाव नलड्ने भन्दै आफूलाई सिफारिस नगर्न आग्रह गरेका हुन् । यो सगैँ तीन दशकभन्दा लामो चुनावी प्रतिस्पर्धाबाट डा. धवलशमशेर राणा बाहिरिएकाछन् ।

बाँकेको राजनीतिमा वि.सं. २०५१ सालदेखि नै सक्रिय अनि हरेक निर्वाचनमा दमदार प्रतिस्पर्धा गर्दै आएका विघटित प्रतिनिधि सभा सदस्य डा. राणा आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्नेछैनन् ।

डा. राणाले वि.सं.२०५१ सालमा ‘सेफ दी नेसन’का तर्फबाट बाँके क्षेत्र नम्बर– २ बाट प्रतिस्पर्धा गरेका थिए । २०५४ सालमा उनी नेकपा (एमाले) का तर्फबाट तत्कालिन नेपालगन्ज नगरपालिकाको प्रमुखमा निर्वाचित भए ।

विसं २०६४ मा पहिलो संविधान सभा निर्वाचनमा बाँके–३ बाट राप्रपाका तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार बनेका राणा २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन नेपाली काँग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासँग झिनो मतान्तरले पराजित भएका थिए । त्यसबेला उनी राप्रपा नेपालको उम्मेदवारका रूपमा थिए ।

विसं २०७४ सालमा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाबाट विजयी डा. राणा २०७९ को निर्वाचनमा बाँके क्षेत्र नम्बर–२ मा नेकपा (एमाले) सँगको गठबन्धनको सहयोगमा प्रतिनिधि सभामा विजयी भएका हुन् । 

राणा खानदानमा जन्मिएका डाक्टर धवल शम्शेर राणाको स्वभाव सरल छ । उनी सामान्य मान्छेसँग पनि गजब्बले घुलमिल हुन सक्छन् । उनको व्यक्तित्व, बोलीचाली सबैलाई मन पर्छ । सबै जात, धर्म, सम्प्रदायको विकास र जनताको उन्नति प्रगति उनको नारा नै छ । 

सबैलाई समानरुपमा हेर्नु नै उनको खासियत हो । उनी भन्छन् ‘म माननीय र मन्त्री हुन निर्वाचनमा उठेको होइन, असल र सभ्य समाज निर्माण गर्न हो ।’ 

देशभर एक भ्रष्ट्राचार विरोधी नेताको रुपमा परिचित डाक्टर धवलले जहिले पनि राजनीतिक विकृतिको अन्त्य गर्दै जनता सुख शान्तिले बाच्न पाउँने वातावरण निर्माण गर्नु आफ्नो दायित्व भएको उनी बताउँछन् ।

Duduwa Tato hawa Bachau Image

नेपालगन्जमा २ पटक मेयर बनेका धवलले आफ्नो कार्यकालमा कामको परीक्षा पास गरिसकेको स्थानीयहरुको ठम्याईछ । उनीहरु नेपालगन्जको मुहार फेरिनुमा धवलको ठूलो हात रहेको बताउँछन् ।

राप्रपाका महामन्त्री रहेका डा. धवलशम्शेरको उपस्थितिमा सम्पन्न पार्टीको क्षेत्र नम्बर–२ को बैठकले सहमहामन्त्री ऋषिराज देवकोटा एवं नेताहरू नन्दलाल वैश्य र चन्द्रशेखर पाण्डेको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । 

बैठकमा राणाले आफू राप्रपाको केन्द्रिय सङ्गठन विस्तारमा केन्द्रित हुने भन्दै नयाँ पुस्तालाई उम्मेदवार बनाउने पक्षमा भएकाले आफ्नो नाम सिफारिस नगर्न आग्रह गरेका थिए ।

राप्रपाका सहमहामन्त्री देवकोटाका अनुसार उम्मेदवार छनोट गर्न बसेको बैठकमा अधिकांशले डा. धवलको नाम सिफारिस गर्ने भन्दै उनीमाथि दबाबसमेत दिएका थिए । तर, डा. राणाले नमानेपछि अन्य तीन जनाको नाम सिफारिस भएको हो । 

डा. राणाले तीन दशकभन्दा लामो समयदेखि चुनावी प्रतिस्पर्धामा रहेको भन्दै अन्य व्यक्तिलाई पालो दिनु पर्छ भन्ने लागेर निर्वाचनमा प्रतिस्पर्धा नगर्ने योजना बनाएको बताए । उनी अब पार्टी राजनीतिमा सक्रिय हुनेछन् ।