प्रतिनिधि सभा निर्वाचनका लागि दाङबाट चार पत्रकारको नाम सिफारिस
नेपालगन्ज १४ पुष : आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दाङबाट विभिन्न राजनीतिक दलहरूले चार जना पत्रकारको नाम सिफारिस गरेका छन् ।
नेपाल पत्रकार महासङ्घका केन्द्रिय निवर्तमान अध्यक्ष विपुल पोख्रेलसहित चार पत्रकारको नाम प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका उम्मेदवारका रूपमा सिफारिस गरिएको हो ।
दाङ क्षेत्र नं २ बाट नेपाली काँग्रेसले वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय पूर्व अध्यक्ष विपुल पोख्रेललाई प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको जनाएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं २ ले पोख्रेलसहित करिब १० जनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति भीमप्रकाश खड्काले जानकारी दिए ।
त्यस्तै, नेपाली काँग्रेस दाङ क्षेत्र ३ ले राष्ट्रिय सभाका लागि पत्रकार अर्जुन गिरीको नाम सिफारिस गरेको छ । गिरीले पार्टीले आफ्नो नाम राष्ट्रिय सभाको उम्मेदवारका रूपमा सिफारिस गरेको जानकारी दिए । सभामा सिफारिस गरिएका आठ जनामध्ये गिरीको नाम आठौँ नम्बरमा रहेको छ। उनी सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोराब) को अध्यक्ष पनि हुन ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दाङले समानुपातिकतर्फ दुई जना पत्रकारको नाम सिफारिस गरेको छ । नेकपा दाङका सचिव विश्व आचार्यका अनुसार नेपाल पत्रकार महासङ्घका केन्द्रिय निवर्तमान उपाध्यक्ष उदय जिएमको नाम आदिवासी जनजाति कोटाअन्तर्गत समानुपातिकतर्फ सिफारिस गरिएको छ ।
त्यस्तै, नेकपाले थारू कोटाअन्तर्गत नेपाल पत्रकार महासङ्घ दाङ शाखाका वर्तमान सहसचिव रामप्रकाश चौधरी (प्रकाश) को नाम पनि समानुपातिकतर्फ सिफारिस गरेको सचिव आचार्यले जानकारी दिए ।





0 Comments