बैजनाथमा आजदेखि चौथो उप–प्रमुख कप प्रतियोगिता
नेपालगन्ज ४ माघ : चौथो उपप्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता–२०८२ आजबाट सुरु हुँदैछ ।
बैजनाथ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आईतबार(आज)देखी प्रतियोगिता सञ्चालन हुदैँछ । बैजनाथ–६ लालपुरस्थित स्थानीय रंगशालामा उक्त प्रतियोगिता आयोजना गरिँदैछ ।
यो पनि बैजनाथको चौथो उपप्रमुख कपको तयारी तीब्र
यसअघि शनिबार पत्रकार सम्मेलनमा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाउँपालिकाको समृद्धिका निम्ति खेलकुद पनि एउटा महत्वपूर्ण क्षेत्र रहेको बताएका थिए । प्रतियोगितालाई सफल बनाउन सबैको सक्रिय सहभागिता हुनुपर्ने धारणा राखे ।
अध्यक्ष शाहीले विद्यार्थीहरुमा खेलकुद प्रतिको रुची बढाउन, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुने बताए ।
गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा खेलकुद विकास समिति सदस्य कुलबहादुर भण्डारी, फिल्ड मार्सल संयोजक राजेश यादव, खेलकुद पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
माघ ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आधारभूत तहतर्फ छात्रा १ सय ४९ र छात्र १ सय ४८ गरी कुल २ सय ९७ जना विद्यार्थी खेलाडी सहभागी हुने खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा माध्यमिक विद्यालयतर्फ समग्र प्रथम हुने विद्यालयलाई नगद ४० हजार, द्वितिय हुनेलाई २५ हजार र तृर्तिय हुनेलाई १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै भलिबल, एथलेटिक्स, तेक्वान्दो र कबड्डी विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद २० हजार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरी आधारभूत र माध्यमिक तह दुवै तहको शिल्ड जित्ने विद्यालयका प्रशिक्षकलाई १० हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।





0 Comments