बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ घटना

सडक ग्राभेलदेखि मतदातालाई ‘लकेट’ वितरण
बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ घटना

नेपालगन्ज २५ माघ : निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ वटा घटना दर्ता भएका छन् । ती घटना गत साताका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा संलग्न उम्मेदवारलाई सचेत गराउँदै त्यस्ता गतिविधि पुनः नदोहोर्याउन आग्रह गरिएको निर्वाचन आचारसंहिता कार्यान्वयन तथा अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले बताए ।

यो पनि बाँकेमा निर्वाचन आचारसंहिता पालना गराउदैँ समिति

निर्वाचन क्षेत्र नं १ मा विद्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको, निर्वाचन क्षेत्र नं २ मा विभिन्न स्थानमा ग्राभेल गरिएको, भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिएको, मतदातालाई ‘लकेट’ वितरण गरिएको तथा झण्डासहित नारा लगाउँदै प्रचार गरिएकोलगायत उजुरी परेका थिए ।

यसैगरी, सामाजिक सञ्जालमार्फत उम्मेदवारविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिइएको, उम्मेदवारले वृद्धाश्रममा भोजन गराएको, पालिकाका अध्यक्ष स्वयंले प्रचारप्रसार गरेको, गैरसरकारी संस्थामा आबद्ध पदाधिकारीले आफ्नो सामाजिक सञ्जालमार्फत पार्टीको प्रचार गरेको, सवारीसाधनमा झण्डा प्रयोग गरिएकोलगायत घटना दर्ता भएका छन् ।

यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील

Duduwa Tato hawa Bachau Image

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका अनुगमन अधिकृत खत्रीले कतिपय स्थानमा उम्मेदवारले स्वयं निर्वाचन आचारसंहिता उल्लंघन भएको स्वीकार गरेको उल्लेख गर्दै यस्ता घटना जानकारीमा आउनेबित्तिकै अनुगमन तथा आवश्यक प्रक्रिया अघि बढाइएको बताए ।

अनुगमन अधिकृत खत्रीले पछिल्ला केही दिनयता आचारसंहिता उल्लंघनका घटनामा कमी आउन थालेको जानकारी दिँदै कतिपय घटनामा निर्वाचन आयोगले स्पष्टीकरण सोधिसकेको बताए । केही उम्मेदवारसँग मौखिक स्पष्टीकरणसमेत सोधिएको र तत्काल त्यस्ता कार्य नदोहोर्याउन निर्देशन दिइएको उनले बताए ।

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)