आज ७६ औं प्रजातन्त्र दिवस
File Photo
नेपालगन्ज ७ फागुन : आज ७६ औं प्रजातन्त्र दिवस । हरेक वर्ष फागुन ७ गते देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइन्छ ।
शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसीहँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।
सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता लगायतले शुभकामना दिएका छन् ।
मूल समारोह आज काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौँ उपत्यकाका नगरप्रमुखहरू, मुख्य सचिव, प्रधान सेनापति, सुरक्षा निकायका प्रमुखहरू लगायत उच्च पदाधिकारीहरू सदस्य छन् । गृह मन्त्रालयका सचिव सदस्य–सचिवको भूमिकामा छन् ।





0 Comments