‘काँग्रेस सुशासनको संकल्प बोकेर अघि बढेको छ’ :सभापति थापा
नेपालगन्ज १४ फागुन : नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सुशासनको संकल्प बोकेर काँग्रेस अघि बढेको बताएका छन् ।
नेपाली काँग्रेस बाँकेले आज (बिहीबार) नेपालगन्जमा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सुझबुझ, उत्साह र उर्जा बोकेर देश बनाउने प्रतिज्ञासहित काँग्रेस अघि बढेको बताए ।
“हिजो गरेका फोहोरलाई सफा गर्ने प्रतिज्ञा गरेर अघि बढेका छौं,“ सभापति थापाले भने, “देशलाई बनाउँछौं, काँग्रेससँग विवेक छ, सामथ्र्य छ, देश बनाउने संकल्प छ ।“
भदौ २३ र २४ को जेनजी विद्रोहपछि मुलुकमा विशिष्ट परिस्थितिमा अप्रत्याशितरुपमा निर्वाचन हुँदै गरेको भन्दै सभापति थापाले भने, “फेरि एउटा प्रयोग नेपालमा नगरौं, २०७४ देखि २०८२ सम्मको अवधि खेर गएको छ, मुलुकले विकास र सुशासनमा यो समयलाई प्रयोग गर्न सक्नुपथ्र्यो, तर आठ वर्षको क्षतीपूर्ति गर्नुपर्नेछ, त्यो सामथ्र्य काँग्रेसले राख्दछ ।’ गएको आठ बर्ष गति र मति दुबै ठीक नहुँदा मुलुक विकास र सुशासनको राजमार्गमा दौडिन नसकेको उनको भनाई छ ।
मुलुकलाई अब काँग्रेसले असामान्य तरिकाले बेजोड गतिमा अघि बढाउने दाबी गर्दै सभापति थापाले भने, “बेजोडले गाडी दौडाउनुछ, कसैलाई नछोडेर, कांग्रेसले गाडी बेजोड गतिमा दौडिने ग्यारेन्टी गर्दछ, त्यति मात्र होइन दुर्घटनामा पर्न पनि दिँदैन ।’ अबको पाँच वर्ष रोजगारी, विकास, सुशासन र समृद्धिको वर्ष बनाउने संकल्प काँग्रेसले लिएको उनको भनाई छ । सभापति थापाले २०४६ साल यता लाभको पदमा बसेका राजनीतिक ब्यक्तित्वहरुको सम्पत्ति छानविन गर्न कांग्रेस नेतृत्व गर्ने उद्घोष समेत गरे ।
सामाजिक सञ्जालमा घृणा र उत्तेजना हाबी भइरहेको चर्चा गर्दै उनले आफूले सबै कुराको खण्डन गर्दै नहिंड्ने स्पष्ट पारे । “म खुला किताब हुँ, सबै विषयको खण्डन गर्दै हिँड्दिन’, थापाको भनाई थियो । उनले सबै नेता कार्यकर्तालाई घरघरमा गएर काँग्रेसको मिसन र भिजनबारे प्रष्ट्याउन आह्वान समेत गरे ।
“खुट्टा दौडाउनुस्, हात जोड्नुस्, घरघर पुग्नुस्, आमनागरिकको भरोसा कांग्रेसप्रति बढ्दै गएको छ, मेरो नाम लिएर जिम्मा लिनुस्, म तपाईंहरुलाई निराश बनाउँदिनँ,’ थापाले भने । थापाले सबै जातजाती, धर्म, सम्प्रदायको अधिकार लेख्ने समितिको आफू सभापति रहेको स्मरण गराउँदै कांग्रेसले सबैप्रति सम्मानभाव राख्ने प्रष्ट पारे । उनले बाँके बर्दियाका पाँचै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गरे ।
नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न वृहत चुनावी सभालाई केन्द्रिय उपसभापति पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति एवम् बाँके–३ का उम्मेदवार अमर सिंह पुन, काँग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् चुनाव प्रचारप्रसार समिति संयोजक राजु खनाल, बर्दिया–२ का उम्मेदवार किशोरसिंह राठौर, बर्दिया– १ का उम्मेदवार संजय गौतम, बाँके क्षेत्र नम्बर–१ का उम्मेदवार नारायण प्रसाद गौडेल, बाँके–२ का उम्मेदवार शुधान्सु कोइराला लगायतले सम्बोधन गरेका थिए ।
बाँकेका उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सञ्जु कुमारी चौधरीले गरेकी थिइन् ।





0 Comments