कर्णालीमा काँग्रेस बन्यो पहिलो दल
नेपालगन्ज २४ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ नेपाली काँग्रेसका उमेदवार सबैभन्दा धेरै पाँच क्षेत्रमा विजयी भएका छन् । कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये काँग्रेस उमेदवारले सुर्खेत–१, दैलेख–१, जाजरकोट, हुम्ला र मुगुमा जित हाँसिल गरेको हो ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवारले कालीकोट, रुकुम पश्चिम, सल्यान र डोल्पा गरी चार क्षेत्रमा चुनाव जिते । कर्णालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार सुर्खेत–२ र जुम्ला गरी एउटा-उटा क्षेत्रमा विजयी भए । दैलेख–२ मा नेकपा (एमाले)का उमेदवारले अरूलाई पछि पारे । योसँगै कर्णालीका सबै क्षेत्रको मतगणना सकिएको छ ।
काँग्रेसबाट मुगुमा खड्ग शाही, हुम्लामा जयपति रोकाय, जाजरकोटमा खड्कबहादुर बुढा, दैलेख–१ मा वासना थापा र सुर्खेत–१ मा विष्णुबहादुर खड्का निर्वाचित भए । नेपाली कम्युनिस्ट पार्टीबाट कालिकोटमा महेन्द्रबहादुर शाही, सल्यानमा रमेश मल्ल, रुकुम पश्चिममा गोपाल शर्मा र डोल्पामा धनबहादुर बुढा निर्वाचित भए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्लामा ज्ञानबहादुर शाही निर्वाचित हुँदा एमालेबाट दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुर्खेत–२ मा रमेश सापकोटा निर्वाचित भए ।
०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र)का उमेदवार चार-चार क्षेत्रमा विजयी भएका थिए । तत्कालीन नेकपा (एकीकृत समाजवादी)का उमेदवारले तीन क्षेत्र जितेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार एउटा क्षेत्रमा निर्वाचित भएका थिए । ०७४ मा प्रत्यक्षतर्फ वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)का उमेदवार नौ क्षेत्रमा विजयी भएका थिए । काँग्रेस उमेदवारले तीन क्षेत्रमा जित हासिल गरेका थिए ।





0 Comments