बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारू विजयीः पत्रकारिता हुँदै सदनसम्मको यात्रा
नेपालगन्ज २४ फागुन : बर्दिया क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार ठाकुरसिंह थारू विजयी भएका छन् । थारूले कुल ४९ हजार ६३१ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत ल्याए । थारू ३४ हजार नौ सय ८८ मतान्तरले विजयी भएका हुन् ।
यसअघि प्रतिनिधि सभा सदस्य तथा पूर्व सिँचाइमन्त्री नेपाली काँग्रेसका उमेदवार संजयकुमार गौतम १२ हजार ७२२ मत ल्याएर तेस्रो भए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई पराजय गरेर चर्चा कमाएका सञ्जय गौतम यस पटक पराजय हुनुप¥यो ।
त्यसैगरी थारू आयोगको अध्यक्ष र संविधानसभा सदस्य समेत भइसकेका नेपाली कम्युनिस्ट पार्टीका विष्णुप्रसाद चौधरीले नौ हजार २८५, नागरिक उन्मुक्ति पार्टीका अब्दुल खानले पाँच हजार ७२४ मत पाए ।
विजयी घोषणा पश्चात् थारू लगायत राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी सहिदको सम्झनामा गुलरियाको राधाकृष्ण चोकमा शोकसभा गरेको छ । बर्दिया क्षेत्र नं–१ मा रहेका कुल मतदाता एक लाख ६८ हजार ३४ मध्ये एक लाख दुई हजार चार सय ८९ जनाले मतदान गरेका थिए । जसमध्ये पाँच हजार आठ सय ८० मत बदर भएको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए ।
बर्दियाको बढैयाताल गाउँपालिका स्थायी बासिन्दा ठाकुरसिंह थारुको उच्च शिक्षाको यात्रा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भयो । क्याम्पस पढ्दै गर्दा उनी पत्रकारितातर्फ आर्कषित भए । तत्कालिन सशस्त्र द्वन्द्वका बेला समाजलाई पत्रकारितामार्फत वकालत गरिरहेका उनी नेपालगन्जका विभिन्न सञ्चारमाध्यम तथा राष्ट्रिय स्तरका सञ्चारमाध्यममा लामो समय ब्यक्तित गरे ।
पत्रकारितामार्फत आवाजविहीनको आवाज बनेर अघि बढेका उनले पत्रकारितमार्फत पु¥याएको योगदानमा थुप्रै सम्मान र पुरस्कार समेत पाएकाछन् । नेपाल पत्रकार महासंघ बाँकेको ११ औं अधिवेशनले अध्यक्ष भएर आफ्नो क्षमता र कार्यकुशलता प्रस्फुटन समेत गरेकाछन् । नेकपा एमाले र एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको विभिन्न पद तथा जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरेका उनी महासंघको अध्यक्ष भइसकेपछि आफ्नो थातथलो फर्केर राजनीतिमा सक्रिय बने ।
क्याम्पस पढ्दा अनेरास्ववियु हुँदै एमाले र यसका विभिन्न भातृसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थारु विगतमा एमालेबाट नागरिक उन्मुक्ति पार्टी हुँदै रास्वपा प्रवेश गरे । उनी २०७९ सालको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका थिए । तर, काँग्रेसका अहिलेकै उम्मेदवार गौतमसँग उनले हार व्यहोरे । तत्कालीन समयमा नागरिक उन्मुक्ति पार्टीका थारू (अहिले रास्वपा उम्मेदवार) २३ हजार नौ सय २३ मत ल्याएर तेस्रो बनेका थिए ।
हक्की स्वभाव भएका र रिस्क लिन तत्काल अग्रसर भइहाल्ने उनले निरन्तर संघर्ष र जनसमर्थनको आधारमा बदिएयाको स्थानीय राजनीतिदेखि राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गरेकाछन् । पत्रकारितामार्फ थारुले स्थानीय मुद्दा उठाउँदै आएका थारुले अब संसदमा उठाउनेछन् । थारुको राजनीतिक यात्रा पत्रकारिता हुँदै संघीय संसदसम्म पुगेकोछ ।





0 Comments