बालेनको निर्वाचन खर्च १४ लाख १७ हजार
नेपालगन्ज २५ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । आयोगमा बुझाइएको विवरणअनुसार उनले प्रचारप्रसार तथा निर्वाचन व्यवस्थापनका विभिन्न शीर्षकमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन् ।
आयोगलाई पेश गरिएको खर्च विवरणमा सार्वजनिक सवारी साधन भाडा, हवाई यात्रा, मतदाता प्रशिक्षण कार्यक्रम, वडा–स्तरीय प्रचार कार्यक्रम, चुनावी कार्यालय सञ्चालन, प्रचार सामग्री उत्पादन तथा मनोनयन शुल्कलगायत शीर्षकमा खर्च देखाइएको छ ।
१५ दिन दुई वटा सवारीसाधनको लागि २ लाख ९३ हजार र हवाइ भाडा खर्च पाँच पटकको लागि ३५ हजार भएको विवरण पेश गरिएको छ। मतदाता प्रशिक्षण कार्यक्रम सञ्चालनमा ५८ जना सहभागी गराई २८ हजार ९ सय ७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।
यसैगरी वडा–स्तरीय प्रचार कार्यक्रम (घरदैलो अभियान) सञ्चालनका लागि २९ वडामा ५ लाख ८० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ। निर्वाचन प्रचारका लागि अस्थायी कार्यालय सञ्चालनतर्फ २ महिनाको अवधिमा पानी तथा अन्य व्यवस्थापनमा १ लाख २० हजार रुपैयाँ खर्च भएको छ भने स्टेशनरी तथा प्रशासनिक सामग्रीमा २२ हजार ८ सय २० रुपैयाँ खर्च भएको देखाइएको छ ।
त्यस्तै प्रचारप्रसार सामग्री उत्पादनतर्फ फ्लेक्स, पम्प्लेट तथा ब्यानर छपाइमा १ लाख ५७ हजार रुपैयाँ र स्टिकर तथा अन्य प्रचार सामग्रीमा करिब १ लाख १९ हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ। उम्मेदवारी मनोनयन दर्ता शुल्कका रूपमा १० हजार रुपैयाँ तिरेको विवरणमा जनाइएको छ ।
सबै शीर्षक जोड्दा उम्मेदवार बालेनले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको विवरण आयोगमा पेश गरेका हुन् । निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र आफ्नो आय–व्ययको विस्तृत विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ ।





0 Comments