किसान महासंघ बाँकेको जिल्ला भेला वैशाख मसान्तमा
नयाँ वर्षको शुभकामना आदानप्रदान
नेपालगन्ज ३० चैत : नेपाली काँग्रेसको भातृ संगठन नेपाल किसान महासंघ बाँके शाखाको जिल्ला भेला आगामी वैशाख मसान्तमा गरिने भएकोछ । बाँकेको ढकेरी स्थित नयाँ गाउँ होम स्टेमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
किसान महासंघ बाँकेका अध्यक्ष एवम नेपाली काँग्रेसका नेता लाहुराम थारुको अध्यक्षतामा भएको बैठकले आगामी वैशाख मसान्त भित्र महासंघको जिल्ला भेला गरिनेछ ।
बाँकेको खजुरामा महासंघको जिल्ला भेला गरिनेछ । यसका लागि आवश्यक तयारी समेत सुरु गरिने अध्यक्ष थारुले बताए । उनका अनुसार त्यसअघि बाँकेका तीन वटै क्षेत्रमा क्षेत्रीय भेला गरिनेछ ।
यस्तै बैठकले महासंघको खाली रहेका पद तथा जिम्मेवारी हेरफेर गर्ने तथा नेपाली काँग्रेसलाई अझ सशक्त र बलियो बनाउन प्रभावकारि गतिविधिलाई अघि बढाउने निर्णय गरेकोछ ।
यसैबीच, नेपाल किसान महासंघ बाँकेले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकोछ । बाँकेको ढकेरी स्थित नयाँ गाउँ होमस्टेमा महासंघ अध्यक्ष थारुको सभाध्यक्षतामा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको हो ।
उनीहरुले पछिल्लो राजनीतिक घटनाक्रम, भर्खरै सकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको समिक्षा समेत गरेका थिए । सोक्रममा उनीहरुले पार्टीलाई अझ दरिलो, सशक्त र मजबूत बनाउन किसान महासंघले खेलेको भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।
लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेकी मिना बोहरा सिद्दिको विशेष उपस्थितीमा भएको शुभकामना आदानप्रदानमा नेपाल किसान महासंघका केन्द्रिय सदस्यहरु प्रेम खरेल, शारदा शर्मा, सविता केसी र लक्ष्मी लम्साल, किसान महासंघ लुम्बिनी प्रदेशका महासचिव महेन्द्र मल्ल, नेपाली काँग्रेस बाँकेका जिल्ला सहसचिव विनोद थारु, किसान महासंघ लुम्बिनी प्रदेश सदस्य लिला थापा, महासंघ बाँकेका उपाध्यक्षहरु टेक बहादुर खड्का, याकुब अन्सारी र अस्मिता शाह, सल्लाहकार जागेश्वर चौधरी, महासंघ क्षेत्र नम्बर–२ का सभापति सुरेन्द्र कुमार श्रेष्ठ, क्षेत्रीय सचिव विजय मल्ल लगायतले शुभकामना व्यक्त गरेका थिए ।





0 Comments