मधुवनकी पूर्व उपमेयर शुवरानी मकै पोलेर जीविका चलाउँदै

मधुवनकी पूर्व उपमेयर शुवरानी मकै पोलेर जीविका चलाउँदै

हरियो मकै पोल्दै मधुवन नगरपालिकाकी पूर्व नगर उपप्रमखु शुवरानी चौधरी । तस्बिर सौजन्य : रामु ओली

नेपालगन्ज ११ वैशाख : बर्दिया मधुवन नगरपालिकाकी पूर्व उपमेयर शुवरानी थारुको हिजोआज दैनिकी मकै पोलेर विक्री गर्दै बितिरहेकोछ । 

मधुवन नगरपालिका वडा–४ माचढ चोकको सडक किनारमा धुवाँमा मकै पोलिरहेकी ४३ वर्षीया शुवरानी धुँवामै जीवन खोजिरहेकी छन् । आफ्नै बारीमा उब्जाएको हरियो मकै पोलेर बेच्दै आएकी शुवरानीलाई मकै बिक्रीले घरको जीविका चलाउन सहज भएको छ ।

पूर्व नगर उपप्रमुखको जिम्मेवारी सम्हालिसकेकी उनी भन्छिन्, “काम सानो ठुलो हुँदैन, गर्ने जाँगर हुनुपर्छ ।” कृषि र पशुपालन शुवरानीको परिवारको मुख्य स्रोत हो । 

“आफ्नो काम गर्न के को लाज ? म कतै ठग्न चोर्न गएको छैन ।” उनी भन्छिन् उपमेयर भइसकेको ब्यक्तिले मकै पोल्नुहुन्छ भन्ने प्रश्न आउने गरे पनि आफूले त्यसलाई सहजरुपमा लिनेगरेकी छु ।

शुवरानी नेकपा (एमाले) को प्रदेश सभा सदस्यको जिम्मेवारीमा छिन् । यसअघि तत्कालीन नेकपा माओवादीको तर्फबाट मधुवन नगरपालिकाको उपमेयर भएकी थिइन् ।

मधुवन नगरपालिकाको उपप्रमुख हुनुभन्दा अगाडि पनि कृषि पेशा गरेको र अहिले पनि त्यही पेशा गरिरहेको उनी बताउँछिन् । पहिले पनि मैले जग्गा भाडामा लिएर खेती किसानी गर्थे, मकै लगाउँथे, पोलेर बेच्थेँ अहिले पनि त्यही काम गर्छु । कार्यकाल सकिएपछि मकै पोलेर बेच्न थालेको उनले बताइन् ।

“मकै दाना बनाएर बेच्दा बढीमा प्रतिक्विन्टल चार हजार आउँछ ।” उनले भनिन्, “घोगा बेच्दा प्रतिघोगा १५ रुपैयाँ र पोलेर बेच्दा प्रतिघोगा २५ रुपैयाँमा बेच्ने गरेकी छु ।” आफ्नो बारीमा फलेको मकै पोलेर बेच्दा राम्रो आम्दानी हुनेगरेको उनको भनाइ छ ।

गत वर्ष मकै पोलेर बेचेर ७५ हजार रुपैयाँ आम्दानी गरेको बताउँदै यो वर्ष पोलेर बेच्नका लागि मकै लगाएकाले एकलाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको उनले जानकारी दिइन् । 

Duduwa Tato hawa Bachau Image

आफ्नो १० कठ्ठा जग्गा मात्र रहेको र थप २ विघा जग्गा भाडामा लिएर कृषि पेशा गरिरहेको शुवरानीका श्रीमान् फुलराम थारूले बताए । उनले एक विघा ५ कठ्ठामा मकै, १० कठ्ठामा गहुँ र पाँच कठ्ठामा तरकारी खेती गरेको बताए ।

पहिले यो समयमा तरकारी पनि बेचिन्थ्यो, यस वर्ष निर्वाचन प्रचारमा व्यस्त भएको हुनाले तरकारी उत्पादनमा ढिलाइ भएको उनले बताए । कृषि र पशुपालनबाट नै आठ जनाको परिवार पालेको उनले बताए । साना ठुला गरेर आठ वटा भैंसी र एक गाई उनीसँग छन् । दैनिक २० लिटरसम्म दुध बेच्ने गरेको उनले बताए ।

उपमेयर हुँदा पाएको तलब भत्ता आफ्नै स्वास्थ्य उपचारमै आधा सकिएको बताउँदै उनले भनिन्– “द्वन्द्वकालमा तत्कालीन सुरक्षाकर्मीले दिएको यातनाले रोगी भएकी छु । लखनउसम्म गएर उपचार गरेँ । अझँै पनि लामो बाटो हिँड्न सक्दिन, भारी बोक्न सक्दिन, शरीर दुख्छ ।” 

“उपमेयर भएकै समयमा तिरिहालिन्छ नि भनेर ऋण गरेर गाउँमै एक कठ्ठा १७ धुर जग्गा किनेर सानो घर बनाएको थिएँ, अझै ऋण तिर्दैछु ।” उनले भनिन् –“इमान्दारीताका साथ जनताले दिएको जिम्मेवारी पूरा गरेँ, कुनै बेइमानी गरिनँ । अहिले आफ्नै पेशामा रमाइरहेकी छु ।”