जेनजी सहिद आयुष र सुलभको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण

जेनजी सहिद आयुष र सुलभको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण

नेपालगन्ज १८ बैशाख : बाँकेका दुई जना युवाको स्मृतिमा नेपालगञ्जमा अर्धकदको सालिकसहित पार्क निर्माण गरिएको छ ।

जेनजी प्रदर्शनका क्रममा गत भदौमा सहादत प्राप्त गरेका नेपालगञ्ज उपमहानगरपालिका १ का आयुष थापा र सुलभराज श्रेष्ठको स्मृतिमा वडा कार्यालयले योग भवन तथा खुला व्यायामशाला निर्माण गरेको हो । 

लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उपमहानगरपालिका र वडा कार्यालयको सहयोगमा करिब रु ५० लाखको लागतमा योग भवन निर्माण गरिएको छ । साथै रु १० लाखको लागतमा खुला व्यायामशाला निर्माण गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

उनले देशको परिवर्तनका लागि सहादत प्राप्त गर्ने वडाका होनहार युवाको स्मृतिमा अर्धकदको सालिकसहित स्मृति भवन निर्माण गरेको बताए । पहिलो चरणमा सिमेन्टको अर्धकदको सालिक निर्माण गरिएको जनाउँदै वडाध्यक्ष रिजालले आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी ढलोटको सालिक बनाउने योजना रहेको उल्लेख गरे ।

नेपालगञ्जका स्थायी बासिन्दा श्रेष्ठ र थापाको गत भदौ २३ गते राजधानीमा भएको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर निधन भएको थियो । वडा कार्यालयले यसअघि दुवै सहिदको स्मृतिमा ‘सहिद मार्ग’ नामाकरण गरिसकेको छ ।

Duduwa Tato hawa Bachau Image

सहिद स्मृतिमा अर्धकदको सालिकसहितको भवन उद्घाटनपछि खुला ब्याडमिन्टन प्रतियोगितासमेत सञ्चालन हुने वडाध्यक्ष रिजालले जानकारी दिए ।