लुम्बिनी प्रदेश सरकारले मन्त्रालय संख्या घटाउँदै

लुम्बिनी प्रदेश सरकारले मन्त्रालय संख्या घटाउँदै

नेपालगन्ज ३१ वैशाख : लुम्बिनी प्रदेश सरकारले प्रदेशको मन्त्रालय संख्या घटाउने तयारी गरेकोछ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुने गरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढाइएको बताएकाछन् ।

प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन् । उनका अनुसार असार १५ देखि २० गतेभित्र मन्त्रालय मातहतका निर्देशनालय तथा कार्यालयहरूको समायोजन प्रक्रिया टुंग्याइनेछ ।

प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १२ वटा मन्त्रालय रहेका छन् । चालु खर्च घटाउने, प्रशासनिक संरचना चुस्त बनाउने तथा कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालय संख्या घटाउन लागिएको मुख्यमन्त्री आचार्यले बताए । 

मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट जेठ २० गतेभित्र प्रणालीमा प्रविष्ट गरिसक्न निर्देशन दिँदै बजेट निर्माणलाई यथार्थपरक, कार्यान्वयनमुखी र त्रुटिरहित बनाउन आग्रह गरे ।

Duduwa Tato hawa Bachau Image

बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेमबहादुर सारु, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरी, युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डे तथा आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवाल लगायतले आ–आफ्ना प्राथमिकताका विषयमा धारणा राखेका थिए ।