‘एम्स सोसल अवार्ड’ नेपालगन्ज म्याराथनलाई

‘एम्स सोसल अवार्ड’ नेपालगन्ज म्याराथनलाई

File Photo

नेपालगन्ज ३ जेठ : धारा नेपालगन्ज म्याराथनलाई एम्स सोसल अवार्डले सम्मान गरिँदैछ । वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड’ प्रदान गर्ने निर्णय गरेको हो । नर्वेको ट्रम्सोमा आगामी जुन १८–२० मा हुने एम्सको २५ औं वल्र्ड कंग्रेसमा उक्त अवार्ड प्रदान गरिने छ । 

छनोट समिति संयोजक एवं एम्स उपाध्यक्ष मार्था मोरालेसबाट अवार्डबारे जानकारी र बधाई प्राप्त भएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । विश्वभरका रेस आयोजकमध्येबाट छनोट हुने यो एम्सको प्रतिष्ठित अवार्ड हो । 

यसअघि २०१३ मा ग्रेट इथोपियन रन (इथोपिया), २०१४ मा टोकियो म्याराथन (जापान), २०१५ मा म्याराथन इन्टरनेसनल लाला (मेक्सिको), २०१६ मा म्युनिख म्याराथन (जर्मनी), २०१७ मा म्याराथन दि लस फ्लोरेस मेडेलिन (कोलम्बिया), २०१८ मा बेलग्रेड म्याराथन (सर्बिया), २०१९ मा हार्मोनी जेनेभी म्याराथन फर युनिसेफ (स्वीटजरल्याण्ड) ले यो अवार्ड प्राप्त गरेका थिए । विविध कारणले बिचमा केही वर्ष रोकिएको यो अवार्ड यस वर्षदेखि निरन्तर प्रदान गर्न लागिएको उपाध्यक्ष मार्थाले बताए । 

उपाध्यक्ष मार्थाले नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीलाई पत्र लेख्दै भनेका छन्, ‘हामी तपाईंलाई यो जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौं, नेपालगन्ज म्याराथन यस बर्षको प्रतिष्ठित एम्स सोसल अवार्ड प्राप्तकर्ताका रुपमा चयन भएको छ ।’ दौडको दुनियाँमा यो अत्यन्तै सम्मानित पुरस्कार भएको मार्थाले उल्लेख गरेकाछन् ।

Duduwa Tato hawa Bachau Image

‘प्रत्येक वर्ष त्यस्ता उत्कृष्ट म्याराथनलाई प्रदान गरिन्छ, जसले म्याराथन आयोजनामा उत्कृष्ट अभ्यास प्रस्तुत गर्दै खेलकुदको दीगो विकासका पक्षमा आफ्नो सशक्त प्रतिबद्धता जनाएको हुन्छ’ उनले भने ‘यो बिशेष पुरस्कारमार्फत तपाईं र तपाईंको संस्थाले समाजमा सञ्चालन गरेका सामाजिक पहलहरु र सकारात्मक कार्यहरुको सम्मान गरिएको हो ।’

एम्सले अन्य सदस्य संस्थालाई पनि आफ्ना कार्यक्रमहरुमा यस्ता उत्कृष्ट अभ्यासहरु अपनाउन प्रेरित गर्ने उद्देश्य राखेको छ । कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडि छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो ।