बाँकेमा आपराधिक घटना बढ्दो, एक महिनामै २०५ मुद्दा दर्ता
- | नेपाखबर | अपराध–घटना
- ५ जेठ २०८३, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज ५ जेठ : बाँकेमा आपराधिक घटना बढ्दो पाइएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको वैशाख महिनाको प्रगति विवरण हेर्दा यस्तो पाइएको हो ।
उक्त प्रगति विवरणले बाँके जिल्लामा अपराधको स्वरूप, प्रवृत्ति र चुनौतीहरू स्पष्ट रूपमा उजागर गरेको छ नै तथ्याङ्कले जिल्लामा आर्थिक अपराध, लागू औषध कारोबार, घरेलु हिंसा तथा ठाडो उजुरी (सामान्य विवाद) प्रमुख रूपमा बढ्दो समस्या बनेको संकेत गरेको छ।
बाँके प्रहरीले वैशाख महिनामा कुल २०५ वटा मुद्दा दर्ता गर्नु प्रहरीको तदारुक्ता र सक्रिय रहेको संकेत भएता पनि तीमध्ये एक सय ३४ वटा सामान्य अपराधले सामाजिक स्तरमा साना विवाद, झै–झगडा र पारिवारिक-समुदायगत द्वन्द्व बढी देखिएको पुष्टि गर्छ ।
आर्थिक अपराधका ३४ वटा घटना दर्ता हुँदा लागू औषध नियन्त्रणतर्फको तथ्याङ्क अझ गम्भीर पाइएकोछ । ३५ मुद्दा दर्ता र ४८ जना पक्राउसँगै ७३९ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद हुनु बाँके जिल्ला लागू औषध कारोबार र प्रयोगको केन्द्र बनेको पुष्टि गर्छ । यसले सीमा नजिकका क्षेत्रमा तस्करी सञ्जाल सक्रिय रहेको र संगठित गिरोहको संलग्नताले ठूलो संख्यामा किशोर–युवा समूह जोखिममा रहेको देखाउँछ।
यसैबीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी १०४ उजुरीमध्ये ८३ वटा फछ्र्यौट भएकाछन् । भने घरेलु हिंसाका ७४ उजुरीमध्ये ५४ मात्र समाधान भएकाछन् ।
ठाडो उजुरीतर्फ ४ सय ५८ मध्ये ३ सय ४८ फछ्र्यौट भएकाछन् । यसले जिल्लामा साना विवाद अत्यधिक हुनेगरेको संकेत गर्छ ।
सवारी दुर्घटनातर्फ २० दुर्घटनामा ४ जनाको मृत्यु र १८ घाइते हुँदा बाँकेको सडक सुरक्षा थप चुनौतीपूर्ण रहेको देखाउँछ । १९ वटा दुर्घटना चालकको लापरबाहीका कारण भएकाछन् ।





0 Comments