विवेककुमार रास्वपा बाँकेको सभापतिमा निर्वाचित
नेपालगन्ज २४ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ निर्वाचित भएकाछन् । उनी बाँके क्षेत्र नम्बर–२ बाट गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए । त्रिपक्षिय भिडन्तमा उनी पराजित भएका थिए ।
रास्वपाको विधान अनुसार सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था भए पनि शनिबार भएको अधिवेशनमा चार जना उम्मेदवारमध्ये कसैले पनि सो मत कटाउन सकेका थिएन्न ।
शनिबार बढी मत ल्याउने दुई उम्मेदवार विवेककुमार श्रेष्ठ र आनन्दबाबु काफ्लेबिच पुनः मतदान गर्नुपर्ने अवस्था आएपछि आपसी सहमतिमा श्रेष्ठलाई आईतबार सभापति निर्वाचित गरिएको हो ।
रास्वपा बाँकेका नेता बुद्धिसागर सुवेदीले दुई प्रतिस्पर्धीबीच भएको छलफल र सहमतिका आधारमा श्रेष्ठलाई जिल्ला सभापति घोषित गरिएको जानकारी दिए ।
शनिबारको मतदानमा श्रेष्ठले ८५, काफ्लेले ५२, हरिपालसिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गरेका थिए ।
यसैगरी उपसभापति पदमा ईश्वरी लामिछाने ११९ मतसहित विजयी भएकाछन् भने उनका प्रतिस्पर्धी रामकुमार विष्टले ६८ मत प्राप्त गरे ।
सचिव पदमा शुभमकुमार गुप्ता १०० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी बुद्धिसागर सुवेदीले ८९ मत प्राप्त गरे । सहसचिव पदमा फारुक गुज्जर निर्विरोध निर्वाचित भएकाछन् ।
त्यस्तै, जातीय प्रतिनिधि सदस्यतर्फ डा. कमरजहाँ १२१ मत र दलित सदस्यतर्फ स्मृति नेपाली १४५ मतसहित निर्वाचित भएकाछन् । उनीहरूका प्रतिस्पर्धी क्रमशः सहजाद अली जोलाहले ५७ र मनोज नेपालीले ३७ मत प्राप्त गरे ।
खुला सदस्यतर्फ यमुनाकुमारी थापामगर १४९, एकलाल थापा क्षेत्री १३८ र हेमराज बराल १२८ मतसहित निर्वाचित भए ।





0 Comments