भण्डारीलाल अहिरलाई बर्खास्त गर्न जसपा नेपालको माग
नेपालगन्ज २५ जेठ : लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिरलाई पदबाट बर्खास्त गर्न जसपा नेपालले माग गरेकोछ ।
जसपा नेपालले लुम्बिनी प्रदेश सरकारद्वारा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराइएको विषयमा गम्भीर आपत्ति जनाउँदै पदबाट बर्खास्त गर्न माग गरेको हो । अहिर खारेज भएको दल जसपाबाट मन्त्री बनेका थिए ।
पार्टीका अनुसार सर्वोच्च अदालतले ‘जसपा’लाई अवैध ठहर गर्दै जसपा, नेपालको वैधानिकता कायम गरिसकेको अवस्थामा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले अहिरलाई मन्त्री नियुक्त गरेका थिए ।
भण्डारीलालसहित नवनियुक्त पाँचजना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
प्रवक्ता मनिषकुमार सुमनद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा जसपा नेपालले अदालतको फैसलासँगै दल विभाजनसम्बन्धी सम्पूर्ण गैरकानूनी प्रक्रिया स्वतः खारेज भएको र सबै जनप्रतिनिधि तथा नेता–कार्यकर्ता कानूनी रूपमा जसपा, नेपालकै दलीय अनुशासनमा आबद्ध रहेको जनाएको छ।
मुख्यमन्त्री आचार्यले अदालतको फैसला र कानूनी अवस्थाबारे जानकारी गराइँदागराउँदै पनि जसपा नेपालको नाममा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराएको आरोप लगाएको छ।
जसपा नेपालले उक्त कदमले कानूनी राज्यको उपहास गरेको, लोकतन्त्रमाथिको नाङ्गो प्रहार गरेको उल्लेख गरेको छ ।
जसपा, नेपालले भण्डारीलाल अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ। साथै, आफ्नो कानूनी र न्यायोचित मागलाई बेवास्ता गरिएमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा एमाले–काँग्रेस सत्ता गठबन्धनविरुद्ध अदालतको मानहानी र कानूनी उपचारका लागि सशक्त कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।
अदालतको फैसलालगत्तै कानूनी स्थितिको आधिकारिक जानकारी गराए पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले न्यूनतम राजनीतिक नैतिकता र लोकतान्त्रिक मूल्य–मान्यताको ख्याल नगरेको जसपा नेपालको आरोप छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चारजना र जनता समाजवादी पार्टीबाट एकजना गरी पाँचजना नयाँ मन्त्री नियुक्त भएका छन् । नयाँ नियुक्त हुने मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन् ।
तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँके क्षेत्र नम्बर २ बाट लुम्बिनी प्रदेश सभा सदस्य रहेका भण्डारीलाल दोस्रो पटक मन्त्री पदमा नियुक्त भएका हुन् ।





0 Comments