विनौना खुकुरी प्रहार घटनाः अदालतभित्र बहस, बाहिर दुवै पक्ष धर्ना र नाराबाजीमा
- | राजनीति | नेपाखबर | अपराध–घटना
- ३० भदौ २०८१, आइतवार
- नेपाखबर
नेपालगन्ज ३० भदौ : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–५ विनौनामा गत भदौ १ गते राती भएको दुई युवामाथि खुकुरी प्रहार घटनामा बाँके अदालतमा आईतबार थुनछेक बहस भइरहँदा अदालत बाहिर दुवै पक्षले धर्ना दिएकाछन् ।
उक्त घटनाको गत शुक्रबारदेखि नै बहस सुरू भएकोमा आज आईतबार पनि निरन्तरता छ । अदालतभित्र बहस चलिरहँदा परिसरमा भने पीडित र आरोपित पक्ष धर्ना तथा नाराबाजी गरिरहेका छन् ।
पीडित पक्षले घटनाका संलग्नलाई कसुरअनुसार कडा कारबाहीको मागसहित धर्नामा छन् भने आक्रमणको आरोप लागेका पक्षधर पनि धर्ना र नाराबाजी गर्दैछन् ।
आईतबार पीडित पक्षका करिब ६० जना धर्ना र नाराबाजी गरेका थिए भने आरोपी पक्षका एक सय ५० जनाजति धर्ना र नाराबाजीमा छन् । भिड बढ्दै गएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
एउटा पक्षले अदालत परिसरको उत्तरतर्फ र अर्को पक्षले अदालत परिसरको दक्षिणतर्फ धर्ना र प्रदर्शन गरेका थिए । भने बाँके प्रहरीले सम्भावित झडपलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब एक सय जना परिचालन गरेको थियो । दुई पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको बाँके प्रहरीले बताएकोछ ।
गत शुक्रबार पीडितको तर्फबाट सात जना सरकारी वकिलले आफ्नो बहस सकेका थिए । पीडित पक्षले थप दश जना निजी वकिल पनि राखेका छन् ।
जिल्ला अदालत बाँकेका सूचना अधिकारी सुरेश मल्लका अनुसार शुक्रबार नै सरकारी वकिल पाँच जनासहित जाहेरी वालाका तर्फबाट थप आठ जना वकिले बहस सकेका थिए । आईतबार जोहरीवालाका तर्फबाट थप दुई जनाले बहस सक्दैछन् । त्यसपछि आजै प्रतिबादीको तर्फबाट वकिलले बहस गर्ने क्रम सुरु हुने छ ।
प्रतिवादीका तर्फबाट १३ जना वकिलले बहसका लागि नाम टिपाएको अदालतका सूचना अधिकारी मल्ले बताए । त्यसपछि जबाफी बहस पनि हुन सक्ने मल्लले जानकारी दिए । एक जनाले त्यसका लागि नाम टिपाएको उनले बताए । ‘सकभर आजै सबै बहस सक्ने र थुनछेक आदेश हुने भन्ने छ,’ उनले भने, ‘बाँकी कुरा सम्बन्धित न्यायाधीसको तजबिजको कुरा हो ।’
सरकारी वकिल बहस सकेको हुँदा प्रतिवादीका तर्फबाट काउण्टर बहस भएर आईतबार नै थुनछेकको आदेश हुने सम्भावना छ ।
राप्ती सोनारी गाउँपालिका–५ बिनौना चोकमा भदौ १ गते शनिबार बेलुकी करिब साढे ७ बजेतिर राप्तीसोनारी–२ का २८ वर्षीय सन्दीप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षकै सुलभ मल्लमाथि एक समुहले सांघातिक आक्रमण गरेको थियो ।
हाल दुवैको भारत उत्तरप्रदेशको राजधानी लखनउका अस्पतालमा उपचार जारी छ । उपचाररत दुवै नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरूण दल बाँकेका सदस्य हुन् ।
उनीहरूमाथि बाटो ढुकेर खुकुरी र खुँडा प्रहार गरेको आरोपमा गत भदौ १ गते राति नै प्रहरीले राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज ओली, ३२ वर्षीय सन्दीप ओली, ३२ वर्षीय रत्न भण्डारी र नेपालगन्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष गुप्तालाई पक्राउ गरेको थियो ।
प्रहरीले राप्तीसोनारी– २ कै फरार मध्यका एक ३७ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर डाँगीलाई पनि नियन्त्रणमा लिइसकेको छ ।
बाँकेका दुई युवामाथि खुकुरी प्रहार भएको घटनामा नौ जना आरोपीविरूद्ध ज्यान मार्ने उद्योगमा गत आईतबार नै मुद्दा दर्ता भइ सकेको छ । घाइतेमध्ये सन्दीप विष्टकी २८ वर्षीया श्रीमती चेतना पुरी विष्टले ज्यानमार्ने उद्योग अन्तर्गत भदौ २ गते घटनाका योजनाकार मानिएका वडाध्यक्ष ओलीसहित नौ जना विरूद्ध ज्यानमार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरेकी थिइन् ।
चेतनाले राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज ओली, ३१ वर्षीय नारायण डाँगी, ३२ वर्षीय सन्दीप ओली, ३२ वर्षीय रत्न भण्डारी र ३५ वर्षीय ऋषी देवकोटा, सोही ठाउाकै ३७ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर डाँगी, २९ वर्षीय नवीन भण्डारी, ३० वर्षीय विशाल भण्डारी र नेपालगञ्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष गुप्ताविरूद्ध ज्यान उद्योगको मुद्दा दर्ता गरेकी थिइन् ।
घटनापछि प्रहरी हिरासतमा रहेका वडाध्यक्ष ओली गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी युवा संघ बाँकेका अध्यक्ष पनि हुन् ।
हालसम्म लखउनमा उपचाररत घाइते मध्य सन्दीप विष्टकी श्रीमती चेतनाले खुकुरी र खुडा प्रहार घटनामा संलग्न अन्य ४–५ जनाको पहिचान नभएको हुँदा उनीहरूको खोजी तथा पहिचान गरी नियन्त्रणमा लिन माग पनि गरेकी थिइन् ।
गत भदौ १ गते राप्ती गाउँपालिकामा आयोजना गरिएको फुटबल प्रतियोगिता हेरेर फर्कंदै गर्दा ढुकेर बसेको वडाध्यक्ष ओलीसहितको एक समुहले सन्दीप विष्ट र सुलभ मल्लमाथि आक्रमण गरेको बाँके प्रहरी बताउँछ ।
प्रहरीका अनुसार विगतमा खुकरी प्रहारबाट घाइते भएका र खुकुरी प्रहार घटनामा संलग्न वडाध्यक्ष ओलीसहितका व्यक्तिहरू एउटै समुहमा थिए । उनीहरु बालुवा गिट्टी निकासी पैठारी लगायतका ठेक्का पट्टाको काम गर्ने गर्थे ।
वडाध्यक्ष ओली पनि क्रसर उद्योग सञ्चालनदेखि बालुवा गिट्टीको ठेक्का पट्टाको काम गर्दै आएका व्यक्ति हुन् । यी दुवै विगतमा एकै समूहमा रहेर काम गरेको तथ्य खुलेको प्रहरी अधिकारीहरू बताउँछन् ।
पछिल्लो समय घाइते मध्यका विष्ट र मल्ल वडाध्यक्ष ओलीको समुहबाट अलग भएका थिए । त्यसपछि उनीहरू नेपाली काँग्रेस निकट नेपाल तरूण दलमा प्रवेश गरेका थिए ।
राजनीतिक प्रतिसोधका साथै विष्ट र मल्लले आफ्नो खोलाको ठेक्का पट्टाको काममा अवरोध पु¥याउन सक्ने तथा त्यसबाट आफूहरूको कमाउ धन्दा बर्बाद हुन ठानेर सुनियोजित रूपमा ज्यानै लिने उद्देश्यले वडाध्यक्ष ओलीको योजनामा उनीहरु माथि आक्रमण भएको खुल्न आएको बाँके प्रहरी स्रोत बताउँछ । यो घटनाले बाँकेमा नेपाली काँग्रेस र नेकपा (एमाले) आमनेसामनेजस्तै भएका छन् ।





0 Comments