भेरीका नवनियुक्त प्रमुख मेसुको कसैलाई पनि शीर निहुँराउने ठाउँ नदिने प्रतिवद्धता

भेरीका नवनियुक्त प्रमुख मेसुको कसैलाई पनि शीर निहुँराउने ठाउँ नदिने प्रतिवद्धता

नेपालगन्ज ९ असोज : भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर निराजन सुवेदीलाई औपचारिक रूपमा स्वागत गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत डाक्टर सुवेदीलाई हालै भेरी अस्पतालमा मेसुको जिम्मेवारी तोकेर पठाएको हो।

अस्पतालले बुधबार गरेको स्वागत कार्यक्रममा उनले भेरीमा कार्यरत रहँदा कसैलाई पनि शीर निहुँराउने ठाउँ नदिने प्रतिवद्धता व्यक्त गरे । ‘यहाँ कार्यरत रहँदासम्म मैले आफ्नो काम, कर्तव्य र जिम्मेवारी पूरा गर्नेछु,’ उनले भने । नेपाल सरकारले आफुलाई काम गर्नका लागि जिम्मेवारी दिएर पठाएको भन्दै पाएको जिम्मेवारी पुरा गर्ने बताए ।

अस्पताल सबै कर्मचारीको घर जस्तै भएकोे भन्दै सेवा गर्दासम्म सबै परिवारको सदस्य भएको बताए । अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाहले नवनियुक्त मेसु डाक्टर सुवेदीलाई आफुहरुले पुर्ण रूपमा सहयोग गर्ने वचन दिए ।’ सबैको सहकार्यले अस्पताल बनाउने हो, मैले यो बीचमा धेरै टीका टिप्पणीहरु सामाजिक संजालमा देखे, कतिको रोईलो पनि देखियो, यो राम्रो कुरा होइन,’ उनले भने ।

कर्मचारीलाई सचेत गराउँदै अध्यक्ष शाहले भने, ’अस्पताल विकास समिति वा अस्पताल प्रशासनप्रति कुनै गुनासो छ भने आउनुस बसेर छलफल गरौं, तर अनावश्यक रुपमा टिप्पणी गर्ने छुट छैन, तपाईले आफ्नो जिम्मेवारी पूरा गर्नुस, आफ्नो जिम्मेवारी अनुसार काम गर्नुस, अबका दिनमा कुनै कुरा सुन्न नपरोस् ।’

Duduwa Tato hawa Bachau Image

सो क्रममा अस्पताल विकास समितिका सदस्य किरण आचार्य, निमित्त मेसु डाक्टर प्रकाश थापा लगायतले नवनियुक्त मेसु सुवेदीलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा अस्पताल विकास समितिका सदस्य डक्टप्रसाद धिताल, पुर्ब मेसुहरु, विभिन्न विभागका प्रमुख, नर्सिङ प्रशासक, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।