नेपालगञ्जमा डेंगी संक्रमण बढ्दो

नेपालगञ्जमा डेंगी संक्रमण बढ्दो

नेपालगन्ज १० असोज : नेपालगञ्जमा डेंगीको संक्रमण बढी देखिएको छ। जिल्लाका अन्य पालिकाभन्दा नेपालगञ्जमा संक्रमण बढी देखिएको हो ।

भदौ १६ देखि असोज ९ गतेसम्ममा बाँकेमा १६ जना विरामी अस्पताल भर्ना भएकोमा आठ जना नेपालगञ्जका रहेका छन् । अघिल्लो महिना आठ जना अस्पतालमा भर्ना भएका थिए ।

बिरामीको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिन्छ । स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन दुर्गा गौतमका अनुसार, सेप्टेम्बर २५ सम्ममा नेपालगन्जका आठ जना, कोहलपुरका चार जना, राप्तीसोनारीका दुई जना, बैजनाथ र डुडुवा गाउँपालिकाका एक एक जना अस्पताल भर्ना भएका छन् ।

नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा आएका विरामीको संख्या हो यो । निजी अस्पतालहरुमा गएका विरामीको तथ्यांक उपलब्ध हुन सकेको छैन ।

बाँकेमा साउनदेखि नै डेंगीका विरामी देखा परेका थिए । भदौ महिनामा आएर विरामीको संख्या ह्वात्तै बढेको छ। फोकलपर्सन गौतमले साउन र भदौमा बाँकेमा ९२ जनालाई डेंगी देखिएको जानकारी दिइन् ।

यसअघि डेंगी भारतबाट आएका मानिस देखापर्ने गरेको थियो । पछिल्लो समयमा यहीका समुदायमा संक्रमण फैलिएको छ । गतवर्ष असोजदेखि मंसिरसम्म डेंगी देखिएको थियो । दशैं मान्न भारतबाट आउनेहरूमा डेंगी देखिन्थ्यो र यो अन्यलाई पनि सर्ने हुन्थ्यो ।

यो वर्ष यहीँ समुदायमा बढी फैलिएको छ । दशैं र तिहार मान्न भारतबाट ठूलो संख्यामा नेपाली आउने भएकाले यसपाली समुदायमा अझ बढी संक्रमण फैलिन सक्ने जोखिम बढेको छ ।

यहाँका बजार क्षेत्रमा बढी डेंगी देखिएको छ । एडिस जातको पोथी लामखुट्टेले टोकेपछि डेंगी लाग्ने गर्दछ । यो जातको लामखुट्टे पानी जमेको ठाउँमा बस्छ । घरको गमला, टायर, बोत्तललगायत पानी जमिरहने ठाउँमा यो लामखुट्टे बस्ने गर्दछ ।

सरसफाईमा ध्यान नदिँदा डेंगुको जोखिम बढेको छ । गर्मी महिनामा लामखुट्टे बढी हुने गर्दछ । नेपालगञ्ज गर्मी हुने ठाउँ भएकाले यहाँ हरेक वर्ष डेंगीको जोखिम रहने गर्दछ। यहाँका स्थानीयमा सामाजिक दायित्वबोध नहुँदा पनि समस्या भइरहेको छ । आफ्नो घरपरिसरमा सरसफाई गरेपनि गेटबाहिर फोहोर गर्ने बानीले गर्दा डेंगीजस्ता संक्रमण फैलिने मौका पाएको छ ।

Duduwa Tato hawa Bachau Image

स्वास्थ्य कार्यालयले पालिका र डेंगीका विरामी देखिएका वडासँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम गर्ने गरेको छ। नेपालगञ्जमा बेलाबेलामा डेंगी हुन सक्ने संभावित ठाउँमा सरसफाई गर्ने गरिएपनि त्यति पर्याप्त भएका छैनन् । समुदायमा संक्रमण फैलिसकेकाले व्यक्ति व्यक्ति सचेत भएमात्रै संक्रमण रोकथाम हुन सक्ने सम्बद्धहरू बताउँछन् ।